बसाइँसराइले उजाड बनेको गाउँमा रमाएका पौडेल दम्पती-Sutra News

बसाइँसराइले उजाड बनेको गाउँमा रमाएका पौडेल दम्पती

शुक्रबार, २५ फाल्गुन २०८०

शुक्रबार, २५ फाल्गुन २०८०

काठमाडौं । वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गए । गाउँ सुनसान बन्दै छ । गाउँमा भएका युवा दिनहुँ विदेश पलायन भइरहेका छन् ।



घरमा भएका छोरोछोरी पढाइका लागि बजार झर्न थालेका छन् । सेवा सुविधाको खोजीमा गाउँले तराई झर्न थालेपछि बागलुङको जैमिनी नगरपालिका ४ सर्कुवा गाउँ सुनसान बन्न थालेको छ ।

सुनसान बन्दै गएको गाउँमा स्थानीय बाबुराम पौडेल र उनकी श्रीमती मायादेवी पौडेल भने व्यावसायिक मौरी पालनमा रमाइरहेका छन् । बसाइँसराइले उजाड बन्न थालेको गाउँमा व्यावसायिक बन्दै गएका पौडेल दम्पतीलाई बसाइँसराइ गर्नुभन्दा गाउँमै उद्यमी बन्नु ठिक लाग्यो ।

पौडेलले तराईमा घडेरीसमेत किनेका छन् । गाउँमा जस्तो स्वच्छ हावापानी र वातावरण नहुँने हुँदा बसाइँसराइ नगरेको बाबुरामको भनाइ थियो । उनको घरको बार्दली, कौसी, छानो र पिँढीभरि मौरीका घार छन् ।

घारमा मौरीले रस बनाइरहेका छन् । आधुनिक प्रविधि अपनाएर मौरी पालनमा लागेका पौडेल दम्पतीले तरकारीसँगै सुन्तला खेतीसमेत गर्दै आएका छन् ।

बाबुराम आफैँले आधुनिक मौरीको घार बनाउने हुँदा हरेक वर्ष हजारौँको खाली र मौरीसहितका घार बिक्री हुने गरेको उनले बताए । हातमा सीप र जाँगरले गर्दा सुनसान गाउँमा बाबुराम सफल उद्यमीका रुपमा चिनिन्छन् ।

पौडेलले बारीमा दुई वटा हाइटेक टनेल बनाएर मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् । पाँच वर्षअगाडि लगाएका सय बोट सुन्तलाले अहिले उत्पादन दिन थालेका बाबुरामले बताउँछन् । मौरी पालनलाई मुख्य पेसा बनाएको भन्दै लोकल कुखुरा, दूध, घ्युका लागि भैँसीसमेत पालन गरेको उनले बताए ।

गाउँमा थुप्रै छिमेकी धमाधम बसाइँसराइ गरे पनि यहाँ अवसर धेरै भएकाले गाउँ छोड्न नसकेको बाबुरामले बताउँछन् । दश वर्षअगाडि साथीभाइको लहलहैमा मलेसिया पुगेर २२ महिना दुःख गरेको सुनाउँदै संघर्ष गरे घरमै पनि प्रशस्त कमाइ गर्न सकिने उनको भनाइ छ ।

घरमा पहिले बाउबाजेको पालादेखि दुई–चार घार मौरी पाल्दै आएको बताउँदै बाबुरामले अहिले आधुनिक तरिकाले व्यावसायिक रुपमा लागिएको जानकारी दिए ।

“गाउँमा काठ जति पनि पाइन्छ, हातमा सीप भएकाले मौरीको घार आफैँ बनाउँछु, पहिले मुडे घारमा मौरी पाल्ने चलन थियो, अहिले सबै आधुनिक घारमा राखेका छौँ,” उनले भने, “विदेश २२ महिना बसेर आएपछि स्वदेशमै केही गरौँ भन्ने लागेर व्यावसायिक मौरी पालन सुरु गरको हुँ, अहिले आम्दानी भइरहेको छ ।”

आफूले मौरी पालन सुरु गर्दा तालिम नलिएको बताउँदै बाबुरामले व्यवसाय सुरु गरेको धेरै वर्षपछि मौरी विकास केन्द्र गोदावरीबाट तालिम लिएको जानकारी दिए ।

पौडेलले हाल ४० घार मौरी पालेका छन् । गत वर्ष सय घार मौरी रहेकामा केही बिक्री गरेको उनको भनाइ छ । पोहोर साल धेरै घार मौरी अपरिचित रोगले मर्दा झण्डै पाँच लाख नोक्सानी व्यहोर्नु परेको बाबुरामले बताउँछन् ।

पौडेल दम्पतीले मौरी पालनबाट दुई छोरोछोरीलाई पोखरामा पढाइ राखेका छन् । छोरीले आइटी इञ्जिनियर र छोराले कम्प्युटर विज्ञान पढिरहेका छन् ।

उनीहरूले हरेक वर्ष दुई क्विन्टल मह बच्ने गरेका छन् । एक किलोलाई एक हजार पाँच सयदेखि दुई हजारसम्ममा बिक्री हुँदा मेहनतको मूल्य पर्ने गरेको उनले सुनाए ।

“मलाई यहाँ भएको कुनै पनि बारी बाँझो राख्न मन लाग्दैन, गाउँमा हरेक दिन खेती योग्य जमिन बाँझो बन्दै गएका छन् । मकै, गहुँ खेती गर्दैनौँ,” मायादेवीले भनिन्, “फलफूल र तरकारी खेती तथा मौरी पालनलाई निरन्तरता दिएका छौँ, मौरीले बारीबाट रस लिन्छन्, मौरी, बोट बिरुवा र माटोसँग खेल्न निकै आनन्द लाग्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट