काठमाडौं । नेपालविरुद्धको टी २० अन्तर्राष्ट्रिय खेलमा हङकङ ७३ रनले विजयी भएको छ । हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदै अलआउट भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेटको क्षतिमा २१२ रन बनाएको थियो ।
नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाउनुबाहेक अरु ब्याटर चल्लन सकेनन् । २२ बल खेलेका विनोदले ४ चौका र ३ छक्काको मद्दतमा ४२ रन बनाए ।
आरिफले २१ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३८ रन बनाएका थिए । रोहितले २३ बलमा २ चौका र १ छक्काको मद्दतमा ३० रन बनाए ।
ओपनर कुशल भुर्तेल २ रनमा आउट हुँदा गुल्सन झा ८, रासिद खान ३, सन्दीप जोरा र आकाश चन्द २–२ रन, विवेक यादवले १ रन बनाए । प्रतिश जिसी भने शून्य रनमा आउट भए ।
हङकङका लागि बाबर हायातले शतक बनाउँदा टोली विशाल लक्ष्य खडा गर्न सफल भएको हो । उनले ४९ बलमा ११० रन बनाए । उनले यस क्रममा ३ चौका र १३ छक्का प्रहार गरे । एइजाज खानले नटआउट रहँदै ११ बलमा २१ रन बनाए ।
यसअघि कप्तान तथा ओपनर निजाकत खान तेस्रो ओभरमा शून्य रन बनाउँदा आरिफ शेखको शिकार बने । अर्का ओपनर मार्टिन कोटजीले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ३१ रन बनाए ।
अन्सी राथले ३२ बलमा ३९ रन बनाउँदै प्रतिश जिसीको बलमा आउट भए । उनले ३ चौका र २ छक्का हिर्काए । विकेट किपर रासिद खानको बलमा शून्य रनमा आउट भएका थिए ।
त्रिकोणात्मक शृंखला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबिच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज सुरु हुँदैछ ।