सत्ता पक्षसँग राष्ट्रियसभा अध्यक्षमा भिड्ने कांग्रेसको निर्णय-Sutra News

सत्ता पक्षसँग राष्ट्रियसभा अध्यक्षमा भिड्ने कांग्रेसको निर्णय

शनिबार, २६ फाल्गुन २०८०

शनिबार, २६ फाल्गुन २०८०

काठमाडौं । गत सोमबारसम्म सत्ता गठबन्धनको ठूलो दल रहेको नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षी दल बन्न पुगेको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकार्य गर्ने परिवर्तन भएसँगै कांग्रेस प्रतिपक्षी दल बन्न पुगेको हो ।



प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा उम्मेदवार दिने निर्णय गरेको हो ।

बैठकले राष्ट्रियसभा अध्यक्षका लागि पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको पार्टीका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले बताए ।

कांग्रेसले पार्टीका तर्फबाट राष्ट्रियसभा अध्यक्ष तथा उपाध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउन बाँकी रहेको उनको भनाइ थियो ।

यसैगरी, बैठकले राष्ट्रियसभा अध्यक्षमा सहयोग खोज्न विपक्षमा रहेका अन्य दलसँग परामर्श गर्ने निर्णय गरेको उनले बताए । शनिबारको बैठकमा बदलिँदो परिस्थिति र नयाँ गठबन्धनपछिका बारेमा छलफल भएको थियो ।

संसद्मा पार्टीका तर्फबाट निर्वाह हुने भूमिकाबारे समेत बैठकमा छलफल भएको नेता केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट