काठमाडाैं । वैदेशिक रोजगारी रहर वा बाध्यता दुबै रहेको हाम्रो समाजमा अमेरिका आफैँमा सपनाको देश हो । कानुनी प्रक्रिया पुरा गरेर अमेरिका जान चाहने मात्रै होइन, अमेरिका जानकै लागि गैरकानुनी बाटो प्रयोग गरेर जाँदा ज्यान गुमाएका नेपाली हुन् वा अमेरिका लैजाने एजेन्टकै बलात्कारको शिकार बनेका नेपाली चेलीको चीत्कार तपाईं हामीले सुनेकै छौं ।
नेपाली नागरिकको अमेरिका मोहलाई बुझेरै राज्यसंरचना समेत प्रयोग गरेर नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने खेल खेल्दा पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री सहित केही दर्जन उच्च पदस्थहरू जेल पुगेको तपाईं हामीलाई थाहा भएकै हो । भलै यो विषय अदालतमा विचाराधीन अवस्थामै छ ।
यो विषयमा अदालतको फैसला आएपछि नै बोल्दा ठिक होला । तरपनि यसले वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि अमेरिका सपनाको देश हो भनेर भन्नू अतिशयोक्ति नहोला ।
तपाईं हाम्रो सपनाको देशमा सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर जान चाहने दक्ष कामदारको लागि यही मार्च ६ तारिखदेखि मार्च २२ सम्म अमेरिकाले दक्ष कामदारलाई उपलब्ध गराउने एचवानबी भिसाको लागि आवेदन दिन सकिने छ । हरेक वर्षको मार्च महिनामा मै अमेरिकाले विश्वबजार बाट सरल प्रक्रिया अपनाउँदै दक्ष कामदार भित्र्याउँदै आएको छ । यसपटक विश्वभरबाट एचवानबी भिसामा ८५ हजार दक्ष कामदार भित्र्याउने अमेरिकाले जनाएको छ ।
त्यसमध्ये २० हजार दक्ष कामदार भने अमेरिकामै उच्च तहमा अध्ययनरत विदेशी विद्यार्थीले अवसर पाउने जनाइएको छ । अमेरिकामै बसोबास गरिरहेका वा अमेरिकी नागरिकको तुलनामा विश्व बजारबाट ल्याएका कामदारलाई कम पारिश्रमिक दिनुपर्ने हुनाले पनि अमेरिकी निजी कम्पनीले पनि एचवानबी भिसालाई उच्च प्राथमिकता दिने गरेका छन् । खासगरी मास्टर्ड डिग्री सकेका आईटी इन्जिनियरहरूले सबैभन्दा धेरै अवसर पाउने बताइएको छ ।
वर्ष २०२३ मा नेपालबाट ११ सय २३ जना नेपाली दक्ष कामदार एचवानबी भिसा प्रक्रिया पुरा गरेर अमेरिकी कम्पनीमा रोजगारीको लागि गएका थिए भने विश्व बजारलाई हेर्दा पनि भारत र चीनबाट अमेरिकामा सबैभन्दा धेरै एचवानबी भिसा प्रक्रियाबाट अमेरिका जाने गरेको बताइन्छ ।
एचवानबी भिसाको प्रोसेस अगाडि बढाउनु अगाडि रोजगारदाता कम्पनीले नै सबै प्रक्रिया अगाडि बढाउने हुनाले तपाईं आफैंले अनलाइन मार्फत अमेरिकी कम्पनीको वेबसाईट भिजिट गरेर सिधै अप्लाई गर्न सकिन्छ भने यो सम्बन्धी काम गर्ने अन्य अनलाइन प्लेटफर्मको पनि सहयोग लिन सकिन्छ । तपाईंले दिनुभएको अप्लिकेसनको आधारमा रोजगारदाता कम्पनीले तपाईंको अप्लिकेशन एसेप्ट गर्यो भने तपाईंको अमेरिका जाने सपना पक्कै पुरा हुनेछ ।
तर, यसको लागि तपाईं जान चाहनु भएको क्षेत्रमा तपाईंको विज्ञताको साथै विश्वबजारका प्रतिस्पर्धीसँग पनि प्रतिस्पर्धा भने गर्नै पर्ने हुन्छ । रोजगारदाता कम्पनीले सिफारिस गरेपछि मात्रै तपाईंको भिसाको प्रक्रिया अघि बढ्ने हुनाले एचवानबी भिसालाई निकै सरल र सहज प्रक्रिया मानिन्छ ।