काठमाडाैं । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भइसकेकाे छ । तर, एक दशक हुँदै गर्दा पनि निर्माण कार्य भने सुरू हुन सकेकाे छैन । जसले केवलकार बन्ला कि नबल्ना भन्ने दुविधा बनाएकाे छ ।
तर, यहीबीच केवलकार निर्माणको स्थानीय राजनीतिक दलहरू एकजुट हुँदै दबाब दिने अभियानमा लागेका छन् । दलहरूले केवलकार निर्माणकाे काम तत्काल थाल्न माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङको आह्वानमा बसेको बैठकमा सबै राजनैतिक दलहरूले केवलकार निर्माणसम्बन्धी आ-आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै केवलकार निर्माणको कामलाई सहजीकरण गर्दै अघि बढ्ने निर्णय गरेका छन् । केवलकार कम्पनीले केवलकारको निर्माण कार्य तत्काल सुरू गर्ने र त्यसको लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यो निर्णय गरेको हो।
उक्त बैठकमा उपस्थित राजनैतिक दलहरूले आ-आफ्नो आधिकारिक धारणामार्फत केवलकार निर्माणमा सहजीकरण गर्ने सहमती गरेका हुन्। बैठकमा उपस्थित विभिन्न दलका प्रतिनिधिहरूले केवलकार जिल्लाको विकास, रोजगारी र पहिचानसँग जोडिएकाले यसको निर्माणको काम तत्काल अघि बढाउन आवश्यक वातावरण निर्माण गर्ने बताएका थिए।
केबलकार बनेपछि ताप्लेजुङमा पर्यटकहरुकाे सङ्ख्यामा वृद्धि हुनाका साथै स्थानीय उत्पादनको बजारीकरण हुने सरोकारवालाहरुको भनाइ रहेको छ । देशैभरि र भारतबाट समेत वर्षमा लाखौँ भक्तजन पाथीभराको दर्शनका लागि आउने गरेका छन्।
आइएमई समूहको अगुवाईमा ताप्लेजुङ जिल्लाको फुङ्लिङ-११, काफ्लेपाटीबाट पाथिभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माण गर्ने योजना छ। ताप्लेजुङमा रहेको पाथिभरा क्षेत्र पूर्वी नेपालको एक धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वको क्षेत्र हो।