काठमाडौं । नेकपा एकीकृत समाजवादीले आसन्न १० औँ महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएको छ ।
पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको नामावली समयसीमाअगावै सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
सबै कमिटीले सम्बन्धित नेताले संगठनमा गरेको योगदान तथा कार्य सम्पादनको मूल्यांकनका आधारमा प्रतिनिधिको सिफारिस गर्न र आफ्नो कार्य क्षेत्रका सदस्यलाई बैठक गरी यसको जानकारी गराउनु पर्ने प्रावधान तोकिएको छ । गत माघ २५ देखि आगामी चैत २५ गते (दुई महिना)सम्म महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको छ ।
यस अवधिमा पार्टी सदस्य व्यवस्थित तथा विस्तार, संगठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहित सम्पर्क मञ्चका सदस्य विस्तार, वितरण गर्न सदस्यता शुल्क, लेबीलाई व्यवस्थित गरिने छ । अभियान सफल बनाउन पार्टीले सबै कमिटीलाई पत्राचार गरेको जनाइएको छ ।
पार्टीले पार्टी सदस्यता विस्तार तथा संगठन सुदृढीकरण गर्न तल्लो तहलाई निर्देशन दिइएको पार्टीले महाधिवेशनमा सहभागी हुन आउने सबै नेतालाई पार्टी सदस्यता नवीकरण गर्न आगामी चैत मसान्तसम्म समय तोकेको छ ।
पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजका लागि मातहातका सातवटा प्रदेश सम्पर्क कमिटी, ७४ जिल्ला सम्पर्क मञ्चलाई सुझाव पठाउन निर्देशन दिएको छ । कमिटीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा महाधिवेशन आह्वान गरेको छ ।