काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएका फिल्म ‘उपहार’ र ‘रङ्गेली’लाई दर्शकले साथ दिएका छन् ।
एकै साथ प्रदर्शनमा आएका यी दुई फिल्मलाई पहिलो दिन शुक्रबार र दोस्रो दिन शनिबार देशभरका हलमा उच्च साथ दिएको देख्न सकिन्छ ।
फिल्म ‘उपहार’को निर्माण पक्षले दिएको जानकारी अनुसार शुक्रबार र शनिबार हाउसफुलको ब्यापार गरेको बताएको छ । यो फिल्म राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, बिग मुभीज बिएसआर लोत्से मल नेपालगञ्जलगायतका हल ‘हाउसफूल’ भएको बताइएको छ ।
शुक्रबार र शनिबार बिहानदेखि दर्शकहरुको उच्च साथ देखिएपछि फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल लगायतको टिम उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरेका थिए ।
रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ ।
फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
यस्तै, शुक्रबारबाटै प्रदर्शनमा आएको अर्को फिल्म ‘रङ्गेली’ले दर्शकको साथ राम्रो पाएको निर्माणपक्षले बताएको छ । फिल्म ‘रङ्गेली’ले शुक्रबार भन्दा शनिबार राम्रो दर्शकको साथ मिलेको दाबी गरेको छ ।
देशभरका हलमा रिलिज भएको ‘रङ्गेली’को पहिलो दिन र दोस्रो दिन शनिबार ७० प्रतिशत अकुपेन्सी रहेको वितरकले बताएका छन् ।
क्यूएफएक्स चेनका हलमा उल्लेख्य शोज नभएपनि प्राप्त भएका शोजमा दर्शकको चाप उच्च थियो ।
फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडाले बलियो वर्ड अफ माउथका कारण दर्शकको उपस्थिति बढेको बताए । वितरक गोविन्द शाहीले फिल्मले दर्शकको राम्रो साथ पाएको र आइतबारबाट अझै बढ्ने विश्वास व्यक्त गरे ।
दर्शकहरुले आफ्नै वरपरको जस्तो महशुश हुने समय अनुसारको कथा र कथा भन्ने शैली मन पराएको प्रतिक्रिया दिएका छन् । यस्ता प्रकारका फिल्महरू निर्माण हुन आवश्यक रहेको दर्शकको प्रतिक्रिया थियो । यो फिल्मको मेकिङ र क्याइमेक्समा दर्शकले बढी मनोरञ्जन लिएका थिए ।
फिल्मका लेखक तथा निर्देशक अर्जुन सुवेदीले आफू एकदमै उत्साहित रहेको प्रतिक्रिया दिए । उनले भने–‘दर्शकले फिल्म मन पराइरहनुभएको छ भन्ने थाहा पाउँदा खुशी लागेको छ । सेकेन्ड हाफको ट्विस्टलाई दर्शकले कसरी लिनुहुन्छ भन्ने शंकामा थिएँ । तर, त्यसैमा बढी दर्शकले मनोरञ्जन लिनु भएको छ ।’
यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश वुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतका कलाकारको अभिनय छ । जितेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी निर्माता रहेको फिल्ममा संसार चौलागाई र रमेश भट्टराइको लगानी छ । युवक कार्की र शिव शंकर चौलागाँई सह–निर्माता रहेको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् ।