काठमाडौं । गत फागुन २० गते पर्वतको तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा प्रस्तुति दिने क्रममा गायिका एलिना चौहान र प्राविधिक पक्षका एक टेक्निसियनबीच भनाभन भएको कुरा त अझै ताजै छ ।
कतिपयले यसमा प्राविधिकको गल्ती भने त धेरै जसोले गायिका एलिना चौहानलाई दोषी देखाए । यता, एलिनाले टेक्निसियनमाथि अभद्र व्यवहार गरेको साउण्ड व्यवसायीहरूले आरोप लगाए । त्यति मात्र हैन गायिका एलिनाले गल्तीको महसुस गरी माफी नमागेसम्म साउन्ड सिस्टम कम्पनी सञ्चालक, साउन्ड इन्जिनियर, टेक्निसियनले एलिना चौहान उपस्थित हुने कुनै पनि कार्यक्रम र ठाउँमा आगामी दिनमा साउन्ड सिस्टम उपलब्ध नगराउने घोषणासमेत गरेका थिए ।
यसरी ती प्राविधिकको पक्षमा पुरै साउन्ड सिस्टम व्यवसायी नै बोले तर, एलिनाको पक्षमा बोल्ने कोही भएनन् ।
यतिकैमा, सोही घटनालाई लिएर गायिका एलिनाले शनिबार फेसबुकमा स्ट्याटस लेख्दै माफी मागिन् । उनको पक्षमा उभिइदिने कोही नभए पछि उनले सो घटनामा तत्कालीन समयमा म आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेकोप्रति आत्मालोचना गर्दछु भन्दै माफी माग्न बाध्य भइन् ।
यो घटनाको कारक एलिना मात्र नभई ती प्राविधिक पनि धेर थोर भागिदार छन् । तर, एलिनाको पक्षमा कोही नबोली दिएकै कारण उनले सामाजिक सञ्जालमा कमजोर महसुस गर्नु पर्यो । तर, उनले माफी मागी सके पछि भने विभिन्न गायक तथा संगीतकार उनको पक्षमा बोल्न थालेका छन् । कतिले त एलिनाले माफी मागिन् अव टेक्निसियनले पनि माफी माग्नु पर्छ भन्दै आव्हान समेत गरेका छन् ।
यस्तैमा, चर्चित लोक गायक बद्री पङ्गेनीले एलिनाको पक्षमा बोल्दै फेसबुकमा लेखेका छन्, ‘के घटनाको कारक गायिका एलिना चौहान मात्रै हुन् ? हो भने साउण्ड सिस्टम व्यावसायि साथीहरूले प्रष्ट पारिदिनुपर्यो । उहाँले ठुलै गल्ती गरेको हो भने कानुनी उपचार खोज्नुपर्यो सम्बन्धित निकाय सँग छलफल गर्नुपर्यो । होइन भने तपाईँहरूको सामूहिक धारणा आइरहँदा गायिका एलिना चौहानले सामाजिक सञ्जालमा कमजोरी महसुस गरिरहँदा प्राविधिक साथीलाई चाहिँ दूधैले नुहाइदिनुभएको हो ? कि प्राविधिकबाट कहिल्यै गल्ती हुँदैन ? गहन रूपमा सोचौँ न साथीहरू आखिर सबैलाई सबै चाहिन्छ । कुनै पनि घटनाको कारक दुवै पक्ष हुन्छ । साउण्ड सिस्टम र कलाकार एक अर्काको परिपूरक हुन मिलेर अगाडि बढ्नुपर्छ । व्यवसायमा निषेधको संस्कृति गलत हुन्छ बेलैमा मनन गरौँ।’
यता, अर्का गायक तथा संगीतकार रमेश राज भट्टराईले भनाभन दुवै पक्षबाट भएको हो । तिमीले जसरी आत्मालोचना गर्यौँ त्यसरी नै उसले पनि गर्न पर्ने हैन र ? साउण्ड सिस्टम र पफमर त एक अर्काका परिपूरक हुन, मिलेर जानुको विकल्प छैन ! यो कलाकारिता क्षेत्रमा मेरालागि कोही बोलिदेला कि भनेर आश नगर नानी । तिमीलाई पर्दा तिमी आफै लड्ने हो, मलाई पर्दा म आफैँ । संयमित भएर अगाडी बढ्नु शुभकामना ! भन्दै प्राविधिकले पनि माफी माग्ने माग गरेका छन् ।
साथै, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले ‘हामी सबै पेसाकर्मीको सम्मान गर्छौँ यसको अर्थ हजुरको अपमान सहिरहन्छौँ कदापि होइन । कसैलाई नाजायज बहिस्कार गर्न, अपमान गर्न सङ्गठित नहुनुस् सङ्गठित हामी पनि छौँ है, त्यो बुझाई रहन नपर्ला भन्दै चेतावनी दिइएकी छिन् । हैन हाम्रो गायक गायिकाका विषयमा बोल्दिने कोही छैनन् ? दुर्गेशले जुत्ता खायो ! त्यो भोलि दुर्गेशले मात्र खान्छ ? आज एलिनालाई घुँडा टेकाइयो ! त्यो भोलि एलिनाले मात्रै घुँडा टेक्छे ? हाम्रा गायक गायिकाका निमित्त खोलिएका संस्थाहरू यस्तै चुप हुन ? यदि गायक गायिकाको गल्ती छ भने सम्झाउने र उनीहरूलाई अप्ठ्यारो पर्दा काँध दिन सक्ने कुनै संस्था छन्, भने कृपया काँध थाप्नुस् । नत्र अब कार्यक्रममा हिँड्ने गायक गायिका अझै हेपिँदै जानेछन्,’ भन्दै एलिनाले माफी मागे प्रति आपत्ति जनाएकी छन् ।