काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पदाधिकारी बैठकले सांसद दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि सोमबार बिहान ११ देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ । यही फागुन २९ गते मंगलबार राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदैछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते लिने विश्वासको मतका सम्बन्धमा पनि छलफल भएको थियो । प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले सोही दिन विश्वासको मत लिने कार्यक्रम छ ।
सांसद दाहाल प्रधानमन्त्री प्रचण्डका भाइ हुन् । उनलाई राष्ट्रपतिले राष्ट्रियसभा सदस्यमा चयन गरेका हुन् ।