काठमाडौं । फिल्म ‘रङ्गेली’ले ‘वर्ड अफ माउथ’का कारण फिल्म हेर्ने दर्शकको सङ्ख्या बढिरहेको देख्न सकिन्छ । रिलिजको पहिलो र दोस्रो दिन उत्साहजनक व्यापार गरिरहेको फिल्मको व्यापार तेस्रो दिन सोमबार पनि सन्तोषजनक नै रहेको छ ।
गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘रङ्गेली’ प्रदर्शनकै समयमा फिल्मप्रति दर्शकले लामो भएको प्रतिक्रिया दिएपछि समयलाई पुनः सम्पादन गराएको छ । यसअघि २ घण्टा ५१ मिनेट लम्बाई सहित देशभरका हलमा रिलिज भएको फिल्म ‘रङ्गेली’को २१ मिनेट समय पुनः सम्पादन गरी लम्बाई घटाइएको हो ।
शुक्रवार रिलिज भई सफलताका साथ चलिरहेको फिल्मप्रति दर्शकले फिल्म हेरेर लामो भएको प्रतिक्रिया दिएपछि दर्शकको चाहना अनुरूप नै लम्बाई घटाइएको निर्माण पक्षले बताइएको छ।
अब यो फिल्म सोमबार बिहानैदेखि २ घण्टा ३० मिनेट लम्बाइमा प्रदर्शन हुने निर्देशक अर्जुन सुवेदीले जानकारी गराएका छन् ।
निर्देशक सुवेदी भन्छन्, ‘दर्शकको राम्रो प्रतिक्रियाको बाबजुद फिल्म केही लामो भएको महसुस भएको प्रतिक्रिया पनि आइरहेका छन् । यसलाई केही घटाउँदा र ‘फास्ट कटिङ’ गर्दा झनै मज्जा आउँथ्यो भन्ने टिप्पणीलाई आत्मसात् गर्दै करिब २१ मिनेट घटाइ २ घण्टा ३० मिनेटमा झारिएको छ । हामीले प्रत्यक्ष रूपमा दर्शकलाई भेट्दा फिल्मको लम्बाई घटाउनु पर्ने सुझाव आएकोमा दर्शकको चाहना अनुरूप नै लम्बाई घटाएका हौँ । अब दर्शकको भावना अनुरूप पुनः सम्पादन भएको फिल्म हलमा आएको छ ।’
साथै, उनले दर्शकले सुस्त र लामो लाग्ने फिल्म हेर्न नचाहने रहेछन् भन्ने थाहा भएको बताए । पहिलो पटक फिल्म निर्देशन गरेका अर्जुनले भन्छन्, ‘मैले पहिलो पटक फिल्म बनाएको हुँ । दर्शकको चाहना के हुने रहेछ भनेर पनि बुझ्ने अवसर पाएको छु । मुख्य कुरा त फिल्म बनाउन भन्दा हलमा चलाउन निकै मुस्किल रहेछ भन्ने महसुस गरेको छु ।’
अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो फिल्ममा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् ।
फिल्मको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ । उनलाई फिल्ममा सन्की गुण्डाको भूमिकामा देखाइएको छ । आर्यनको ‘इन्ट्री’ पश्चात् रङ्गेलीको दोस्रो भागमा अभिनेता दयाहाङ राई र उनको ‘क्ल्यास’ हुने अवस्था रहेको छ ।
‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।
जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा कार्यकारी निर्माता रहेको फिल्मका संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ निर्माता हुन् । यस्तै, फिल्मको सह-निर्माता युवक कार्की र शिव शङ्कर चौलागाईँ रहेका छन्।
सुशन प्रजापतिको छायाकंन रहेको यस फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।