काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि मंगलबार निर्वाचन हुँदैछ । जसका लागि माओवादी केन्द्र तर्फबाट सांसद नारायण दाहालको उम्मेदवारी परेको छ भने नेपाली कांग्रेसको तर्फबाट सांसद युवराज शर्माको उम्मेदवारी परेको छ ।
माओवादी केन्द्रका दाहालको पक्षमा सत्ता साझेदार दलहरुको समर्थन छ भने कांग्रेसका शर्माको पक्षमा कांग्रेस र लोसपाको समर्थन छ ।
गठबन्धन परिवर्तनअघि कांग्रेसबाट कृष्ण सिटौलालाई अध्यक्ष बनाउने तयारी गरिएको थियो । तर, गठबन्धन फेरबदलसँगै संसदीय गणित परिवर्तनपछि उनी पछि हटे ।
हुन पनि संसदीय गणितलाई हेर्दा अध्यक्ष पदमा कांग्रेस उम्मेदवारको जितको सम्भावना निकै कमजोर छ ।
५९ सदस्यीय राष्ट्रियसभामा बहुमतका लागि २९ सांसदको मत आवश्यक पर्दछ । राष्ट्रियसभामा माओवादी केन्द्र एक्लैसँग उपाध्यक्षसहित १८ सांसद छन् भने एमालेसँग १०, एकीकृत समाजवादीसँग ८ र जसपासँग तीन सांसद छन् । चार दल मिल्दा ३९ सांसदको समर्थन पुग्छ । उक्त समर्थन बहुमत बढी हो ।
यता, कांग्रेससँग १६ सांसद छन् । कांग्रेसलाई एक सदस्य भएको लोसपाले सघाउने निर्णय गरेको छ । यद्यपि १७ सांसद भएको कांग्रेसलाई जित्न थप ११ सांसदको समर्थन आवश्यक पर्दछ । जुन मत जुट्ने सम्भावना निकै कम देखिन्छ ।
सम्बन्धित समाचार