गठबन्धनभित्र नयाँ सहमति : राष्ट्रियसभाको उपाध्यक्ष एकीकृत समाजवादीलाई-Sutra News

गठबन्धनभित्र नयाँ सहमति : राष्ट्रियसभाको उपाध्यक्ष एकीकृत समाजवादीलाई

८ बुँदे सम्झाैता नै संशाेधन

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०
फाइल तस्बिर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले उठाएको मागमा सत्ता गठबन्धनका मुख्य दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा एकीकृत समाजवादीको मागमा दुई दलले सहमति जनाएका हुन् ।



दलहरुबीच राष्ट्रियसभा उपाध्यक्षको पद एकीकृत समाजवादीलाई दिने सहमति भएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार ८ बुँदे नै संशोधन गर्ने सहमति पनि दलहरुका बीच भएको छ ।

“हाम्रा मागका विषयमा बृहत छलफल भयो, ८ बुँदे सम्झौतामा हाम्रा माग पनि समेट्ने सहमति भएको छ”, बैठकमा भएको सहमतिबारे एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले भनेका छन्, “उक्त संशोधनपछि एकीकृत समाजवादीले पनि हस्ताक्षर गर्नेछ, बुँदा २ बाट राष्ट्रियसभाको उपाध्यक्ष पद एमालेले पाउने भन्ने हटाइएको छ ।”

पछिल्लो सहमतिसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत र राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारलाई एकीकृत समाजवादीले सघाउने पाण्डेले बताए । “हाम्राबीचका धेरै अन्योलता हटेको छ, प्रधानमन्त्रीलाई विश्वासको मत, आज राष्ट्रियसभा अध्यक्षलाई मत दिनेछौं”, उनले भनेका छन् ।

आजको बैठकमा एकीकृत समाजवादीले आफूले पाएको मन्त्रालयको विषयमा पनि प्रश्न उठाएको थियो । एकीकृत समाजवादीले कम महत्वको मन्त्रालय आफूलाई दिएको भन्दै असन्तुष्टि पोखेको नेताहरुले बताएका छन् ।

सोमबार बसेको एकीकृत समाजवादीको बैठकले आफ्ना मागमा लिखित सहमति नजनाए राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारलाई मत नदिने र प्रधानमन्त्रीलाई विश्वासको मत पनि नदिने निर्णय गरेको थियो । एकीकृत समाजवादीको उक्त निर्णयपछि तीन दलका शीर्ष नेताहरु सहमति खोज्न भन्दै छलफलमा जुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट