कस्तो छ उपहार, रंगेली र काँडेतारको व्यापार-Sutra News

कस्तो छ उपहार, रंगेली र काँडेतारको व्यापार

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर शुक्रबारबाट एकै दिन प्रदर्शनमा आएका तीन नेपाली फिल्मले खासै इनिसियल व्यापार गरेको देखिँदैन ।



ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’, अर्जुन सुवेदी निर्देशित ‘रङ्गेली’ र नवल खड्का निर्देशित ‘काँडेतार’को प्रदर्शन भएको पाँच दिनसम्मको व्यापार हेर्ने हो भने दयनीय रहेको देख्न सकिन्छ ।

भिन्न भिन्न कथावस्तुका यी तीन फिल्म एकसाथ रिलिज हुँदा हल विभाजनमा पनि समस्या भोग्नु परेको थियो । यी फिल्महरूले हलमा कम शोज पाएका थिए ।

प्रदर्शनमा आएको चार दिनमा फिल्म ‘उपहार’ले केही हद सम्म सन्तोषजनक व्यापार गरेको निर्माण पक्षको दाबी छ ।

फिल्म रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्की लगायतका कलाकारको अभिनय छ । यो फिल्मबाट रेखा पाँच वर्षपछि निर्माण र अभिनयमा फर्किएकी हुन् ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

यता, हिट जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘रङ्गेली’ले प्रदर्शनको दुई दिन घरेलू बक्स अफिसमा सुखद् व्यापार गरेको निर्माण पक्षको दाबी रहेको थियो ।

शुक्रबार देशभर ७० प्रतिशतमाथिको अकुपेन्सी देखिएसँगै केही हलमा हाउसफुल शनिबार पनि सोही अनुपात कायम रहेको वितरक गोविन्द शाहीले दाबी गरे पनि आइतबारबाट काठमाडौं र मोफसलका धेरैजसो हलहरूमा दर्शकको न्यून उपस्थिति देखिन्थ्यो ।

यस फिल्ममा दयाहाङ र मिरुनाका अलावा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका छ । फिल्मका कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् भने सुशन प्रजापतिले फिल्मको छायाङ्कन गरेका हुन् ।

फिल्मले पैसा र शक्तिले एक सामान्य व्यक्तिको जीवनमा पार्ने प्रभाव र त्यसले निम्त्याउने घटनाक्रमले क्षणिक लाभ र दीर्घकालीन असरलाई मेरो पात्रले देखाउने प्रयास गरिएको छ ।

त्यस्तै, नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने कथामा बनेको यो फिल्म हलहरूले उचित शो नदिएको भन्दै देशभरबाट फिल्म उतारिएको छ ।

प्रदर्शनको भएको दिन शुक्रबार र शनिबार फिल्मले केही हदसम्म सन्तोषजनक दर्शकको साथ पाएको थियो । सुरुवातमै अन्य फिल्म भन्दा कम शोज पाएको यो फिल्म हलहरूले उचित शो नदिएको भन्दै निर्माण पक्षले देशभरबाट फिल्म उतारी सकेको छ ।

‘काँडेतार’मा नवल खड्काको साथमा गौरव पहारी, रेबिका गुरुङ, सुरबिना कार्की लगायतको अभिनय छ ।

तीन वटा फिल्मको कूल लगानी करिब ६ करोड हाराहारी लगानी रहेको बताइन्छ । तर त्रिपक्षीय भिडन्तका कारण ‘न्यून शो’ मा परेका यी फिल्मले लगानी उठाउन करिब १४ करोड कमाइ गर्नुपर्ने चुनौती समेत रहेको छ । सुरुवातमा अपेक्षित शो नपाएका यी फिल्मले लगानी सुरक्षित गर्न अझै सङ्घर्ष गर्नु पर्ने देखिन्छ ।

यस विषयमा सूत्र न्युजले वितरकद्वोय गोविन्द शाही र करण श्रेष्ठसँग कुराकानी गर्दा उनीहरूले व्यापारिक आँकडा आई नसकेको बताउँदै आज भोलीमै जानकारी गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट