काठमाडाैं । मधेस प्रदेशको राजधानी समेत रहेको धनुषाको जनकपुरधाम स्थित सिटी स्टार फ्यामिली होटलमा बेहोस भेटिएकी युवतीको मृत्यु भएको छ ।
जनकपुरधामको रामानन्द चोकस्थित सिटी होटलको कोठामा मंगलबार बिहान साँढे आठ बजेतिर पोखराकी अन्दाजी २७ वर्षीया खुश्बु सुनार बेहोस अवस्थामा भेटिएपछि प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
प्रादेशिक अस्पतालमा खुश्बुले ज्यान गुमाए लगत्तै उनिसँगै बसेका भनिएका दुई युवक फरार भएपछि घटना शंकास्पद देखिएको प्रहरीले जानकारी दिएको छ । युवतीको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको समेत प्रहरीले जानकारी दिएको छ ।
फरार दुई युवकको खोजीसँगै घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।