काठमाडाैं । पपुवा न्युगिनी र नेपाल समेत सम्मीलित त्रिकोणात्मक टि-२० सिरिजमा मंगलबार भएको पपुवा न्युगिनी विरुद्धको खेलमा नेपाली राष्ट्रिय टिमका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले गज्जबको प्रदर्शन गरे ।
हङकङको मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाउँदा नेपालका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्का सहित ५९ रनको योगदान दिएका थिए । त्यो सँगै भुर्तेलले टि-२० इन्टरनेशनल क्रीकेटमा १ हजार रन पूरा गर्ने दोस्रो ब्याट्सम्यान बनेका छन् ।
भुर्तेलले ३६ टि-२० खेलमा १ शतक, ८ अर्धशतक सहित १०१ चौका र ४४ छक्का हान्दै एक हजार आठ रन बनाएका छन् । भुर्तेल नेपालबाट टी-२० क्रीकेटमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याट्सम्यान बनेका छन् । त्यसअघि नेपाली ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ५८ खेलमा १ शतक र ८ अर्धशतक सहित १४७६ रन बनाएका छन् । त्यो बाहेक कुनै पनि नेपाली ब्याट्सम्यानले टि-२० इन्टरनेशनलमा एक हजार रन पुरा गर्न सकेका छैनन् ।
त्रिकोणात्मक सिरिजको लागि हङकङमा रहेको नेपाली राष्ट्रिय टिमले पहिलो खेलमा वर्षा बाधक भएर खेल रद्द हुँदा दोस्रो खेलमा उनै ओपनर ब्याट्सम्यान भुर्तेलको अल राउन्ड प्रदर्सनमा सिरिजको फाइनलमा प्रवेश गरेको छ । ब्याटिङमा ५९ रनको योगदान दिएका भुर्तेलले बलिङमा पनि ४ ओभरमा मात्र १२ रन खर्चदैं ४ विकेट लिएपछि पपुवा न्युगिनी विरुद्ध सहज जित निकालेको थियो । यो खेलमा भुर्तेल म्यान अफ दी म्याच समेत बनेका थिए ।
अहिले जारी रहेको हङकङ र पपुवा न्युगिनीबिचको विजेताले बुधबार नेपालसँग फाइनलमा प्रतिस्पर्धा गर्ने छ । भोलि हुने त्रिकोणात्मक सिरिजको फाइनलमा नेपालले कस्तो प्रदर्शन गर्ला ? कुशल भुर्तेलले आजको प्रदर्शनलाई निरन्तरता देलान् ? प्रश्न बाँकी नै छ ।