काठमाडौं । पछिल्लो समयमा नेपालमा पाटे बाघको संख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढेको छ ।
खासमा बस्ती पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ । हाल मुलुकभर यस्ता समस्याग्रस्त बाघको संख्या १९ रहेको छ ।
तीमध्ये ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना तथा चितवन राष्ट्रिय निकुञ्जमा छ-छ, बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच, बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा एक-एक बाघ खोरमा राखिएका छन् । बर्दिया र पर्सामा यस्ता दुई बाघ केही समय अघि मात्रै खोरमै मरेका थिए ।
यस्ता बाघको दैनिक आहारा, हेरचाह, उपचार र अन्य व्यवस्थापनमा बर्सेनि सरकारको ठूलो रकम खर्च हुँदै आएको छ । विगत दश वर्षमा नेपालमा बाघको संख्या दोब्बरभन्दा बढीले वृद्धि भएको छ । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या ३५५ पुगेको छ ।
बाघलाई मार्न र बेचबिखन गर्न नपाइने कानूनी प्रावधान छ । तसर्थ समस्याग्रस्त बाघको व्यवस्थापनका लागि ‘टाइगर जु’ स्थापना गर्नु पर्ने, मित्र राष्ट्रलाई उपहार स्वरुप प्रदान गर्नु पर्ने, प्रदेशमा रहेका प्राणी उद्यानमा राख्नु पर्ने, केही उपाय नलागे मार्नु पर्नेलगायत विकल्पमाथि बहस सुरु भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगाना वातावरणीय क्षमताका हिसाबले नेपालमा समग्रमा बाघको संख्या बढी भएको आंकलन गर्दै अटाउने निश्चित क्षेत्रभन्दा बढी भएपछि बाघ आहाराको खोजीमा जंगलबाहिर आउने गरेको बताउँछन् ।
जंगलबाहिर निस्केको र मानव तथा वन्यजन्तुलाई आक्रमण गरेको बाघलाई पुनः जंगलमा फर्काउँदा खतरा कायमै रहने उल्लेख गर्दै उनी भन्छन्, “समस्याग्रस्त बाघलाई ठूलो खोर बनाएर ‘टाइगर सेन्चुरी’ अवधारणामा वरपर जालीबाट मानिसले हेर्न सक्ने गरी राख्ने कि भन्ने योजनामा छौँ, तर यसका लागि नियमितभन्दा थप धेरै बजेट आवश्यक पर्छ ।”
यसबाहेक समस्याग्रस्त बाघको तत्काल व्यवस्थापनका लागि कोशी टप्पुतिर पनि खोर बनाएर सार्ने, प्राणी उद्यानमा उद्धार केन्द्र बनाएर राख्ने, मित्र राष्ट्रलाई उपहार दिनेलगायत विभिन्न विकल्पका बारेमा छलफल भइरहेको महानिर्देशक डा. ढुंगानाको भनाइ छ ।
यसरी खोरमा राखेका प्रत्येक बाघलाई आहाराका रुपमा दैनिक पाँच किलो मासु दिने गरिएको छ । साथै व्यवस्थापन र घाइते बाघको उपचारका लागि थप जनशक्तिको समेत परिचालन हुँदै आएको छ ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल बाघको संख्या बढेसँगै अब दायित्व पनि थपिएको बताउँछन् । मानव बस्तीबाट उद्धार गरेको बाघ स्वस्थ छभने तत्काल पुनः वन क्षेत्रमा नै पुनः स्थापना गर्नु पर्ने उनको भनाइ छ ।
यसबाहेक ‘टाइगर जु’ बनाएर व्यवस्थापन गर्नु पर्ने, प्रदेशका चिडियाखानामा व्यवस्थापन गर्नु पर्ने र मित्र राष्ट्रलाई उपहार दिर्नु पर्ने उनको सुझाव छ । “उपरोक्त कुनै पनि उपाय लागेन भने समस्याग्रस्त तथा घाइते बाघलाई मार्नु पर्ने अवस्था पनि हुनसक्छ, जुन अन्तर्राष्ट्रिय अभ्यासमा पनि छ,” सहसचिव डा. ढकालले भने ।