एमालेको लचकताले प्रचण्डलाई सहज, विश्वासको मत पाउनेमा ढुक्क-Sutra News

एमालेको लचकताले प्रचण्डलाई सहज, विश्वासको मत पाउनेमा ढुक्क

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०
फाइल तस्बिर

काठमाडौं । “पहिले–पहिले प्रधानमन्त्रीबाट गल्ती भएको हुनसक्छ, ति उहिलेका कुरा हुन् तर, अहिले त उहाँले एकदमै राम्रो गर्नुभएको छ, अनुचित गठबन्धन तोडेर, उचित गठबन्धन बनाउन पहल गर्नुभयो”, मंगलबार एमालेको संसदीय दलको बैठकमा सांसदहरुलाई फकाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भन्दै थिए, “हाम्रो दायित्व हो, उहाँलाई जसरी पनि विश्वासको मत दिलाउनै पर्छ ।”



अध्यक्ष ओलीले सरकारको विरुद्धमा बाहिर केही नबोल्न पनि सांसदहरुलाई निर्देशन गरेका छन् । उनले भन्नै परे आफूलाई आएर भन्न सांसदहरुलाई अह्राएका छन् ।

“सरकारको आलोचनामा बोल्नुपर्यो भने अन्तरिक रुपमा गर्दा हुन्छ, मलाई भन्दा हुन्छ किनभने नबुझिकन कहिले–कहिले देख्दा एकचिज देखिन्छ तर अर्कै हुन्छ”, उनले भनेका छन् ।

जसरी सांसदलाई फकाएका छन्, यसको प्रष्ट अर्थ प्रचण्डलाई विश्वासको मत दिलाउनुमा ओलीको प्रतिष्ठा जोडिएको छ । ओली जसरी पनि प्रचण्ड नेतृत्वको सरकारलाई अगाडि लैजान चाहन्छन् ।

हुन पनि नयाँ समीकरण बनेदेखि नै एमालेले देखाएको लचकता सामान्य छैन । माओवादी केन्द्रसहित सत्ता साझेदार सबै दलको मागलाई सम्बोधन गर्ने शैलीमा ओली देखिएका छन् । ओलीले न त फागुन २१ मा भएको ८ बुँदे सहमति आफू अनुकुल बनाउन खोजे, न त त्यसयताका शक्ति बाँडफाँटमा हाबी भए ।

मंगलबार भएको सात बुँदे सहमति पनि एमालेको लागि अनुकुलित छैन । जसले सत्ता साझेदार एकीकृत समाजवादीका मागलाई सम्बोधन गरेको छ तर, उक्त सम्झौतामा ओलीले पनि सदासयता देखाएका छन् । जसले ओली प्रचण्डलाई जसरी पनि विश्वासको मत दिलाउने पक्षमा देखिएको प्रष्ट हुन्छ ।

उल्लेखित घटनाक्रमले गठबन्धनभित्रको मुख्य दल मात्रै होइन अन्य साझेदार दलहरुका असन्तुष्टि पनि क्रमशः सम्बोधन हुँदै गएका देखिन्छन् । यसले गठबन्धनले निरन्तरता पाउनेमा विश्वास बढाएको छ । सात बुँदे सहमतिकै परिणाम राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहालले सहज बहुमत पाएका छन् ।

बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । यस्तोमा गठबन्धनभित्रको विवाद सामसुम भएसँगै उनले विश्वासको मत पाउने पनि सुनिश्चित जस्तो देखिएको छ ।

संसदीय गणीतलाई हेर्दा, गठबन्धनमा भएका दलहरुको मात्रै मत पाएमा प्रधानमन्त्रीले सहजै बहुमत प्राप्त गर्न सक्छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको मत चाहिन्छ ।

गठबन्धनमा आबद्ध पाँच दलसँग सहज बहुमत छ । हाल एमालेसँग ७६, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २१, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० गरी १५१ मत छ । जुन बहुमतभन्दा माथि हो ।

सम्बन्धित समाचार

एकीकृत समाजवादीलाई समेट्न फागुन २१ को ८ बुँदेलाई संशोधन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट