प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक विश्वासको मत लिँदै, कति छन् पक्षमा सांसद ?-Sutra News

प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक विश्वासको मत लिँदै, कति छन् पक्षमा सांसद ?

बुधबार, ३० फाल्गुन २०८०

बुधबार, ३० फाल्गुन २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । संघीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । बैठक बिहान ११ बजे बस्ने कार्यसूची छ ।



गत फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिने भएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्री भएका थिए । उनले ०७९ पुस २६ गते विश्वासको मत लिएका थिए । प्रचण्डले पहिलोपटक प्रतिनिधिसभामा रहेका अधिकांश दल र सांसदको विश्वासको मत प्राप्त गरे ।

संसदमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए । नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने प्रधानमन्त्रीका रूपमा उनको नाम लेखिएको छ ।

राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरियो । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए ।

सत्ता गठबन्धन फेरिएपछि ०७९ चैत ६ गते पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिए । उक्त दिन प्रतिनिधिसभामा भएको मतदानमा उनले १७२ मत पाए । उनको विपक्षमा ८९ मत परेको थियो ।

यही फागुन २१ गते गठबन्धन परिवर्तन भएपछि साविकको सत्ता सहयात्री कांग्रेस प्रतिपक्षमा पुगेको छ । सो दलले विश्वासको मत फिर्ता लिएको छ ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीसहितको पाँच दलले नयाँ गठबन्धन बनाएका छन् । सरकार विस्तारसमेत भइसकेको छ ।

नयाँ गठबन्धनको समर्थन प्राप्त गरेसँगै प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् । गठबन्धनमा आबद्ध दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरिसकेका छन् । कांग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रतिनिधिसभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० सांसद छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले पनि ह्वीप जारी गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट