काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएकोप्रति नेपाली कांग्रेसले प्रश्न उठाएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सचेतक सुशिला थिङले छानबिनमा तानिएका लामिछानेलाई नै किन गृहमन्त्री भन्दै प्रश्न उठाइन् ।
कांग्रेस सचेतक थिङले लामिछानेलाई गृहमन्त्री बनाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने माग गरिन् । ‘उथलपुथल’ यही त होइन भन्दै थिङले प्रधानमन्त्रीमाथि व्यंग्य पनि गरेकी छिन् ।
“सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा तानिएकालाई गृहमन्त्री बनाएर ल्याउनुभएछ, साँच्चिकै प्रधानमन्त्रीले उथलपुथल गरेर ल्याउनुभएछ”, उनले प्रश्न गरेकी छिन्, “के नेपाल सरकारका प्रहरीले गृहमन्त्रीज्यूलाई स्यालुट गर्दै आफ्नो मुद्दामा आफैंलाई दोषी ठहर हुनेगरी अनुसन्धान होला कि नहोला ? यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ ।”
आफ्नो मुद्दामा आफैं न्यायाधिश हुन मिल्ने कानुन नभएको भन्दै स्वयम् छानबिनमा तानिएका लामिछानले कसरी मुद्दामाथि छानबिन बढाउलान् भन्ने प्रश्न थिङको छ । उनले लामिछानेलाई गृहमन्त्री बनाइँदा कानुनको धज्जी उडाइएको आरोप लगाइन् ।
“मुलुकी फौजदारी संहिताको दफा ७६ मा दफा बाझिने मुद्दामा न्यायाधीशले फैसला गर्न मिल्दैन भनिएको छ, उहाँले ठ्याक्कै आफ्नो मुद्दामा आफैं न्यायाधिश हुन मिल्ने गरी कानुन नै उथलपुथल बनाउने गरी गृहमन्त्री बनाएर ल्याउनुभएछ”, उनले भनेकी छिन् ।
सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपतिलगायतमाथि छानबिन हुन्छ कि हुन्न भन्ने प्रश्न थिङले उठाएकी छिन् ।