काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूमाथि निजी आक्षेप लगाएको भन्दै प्रतिवाद गरेका छन् । उनले कांग्रेसले आफूलाइ विश्वास घात गरेको दाबी गरे ।
‘सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीले यसको अराजनीतिक व्याख्या गर्नु भयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नु भयो,’ उनले भने, ‘म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ, तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद् उपयुक्त ठाउँ होइन ।’
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्दै चुनावलगत्तै कांग्रेसले आफूमाथि विश्वासघात गरेको बताए । ‘जुन गठबन्धनमा सामेल भएर मेरो नेतृत्वको पार्टीले कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाउन मद्दत गर्यो, त्यही दलसँग भएको सहमति तोड्ने खुलेआम धोका र विश्वासघातको परिणाम नेकपा एमालेका लगायतका दलहरूको समर्थनमा प्रधानमन्त्री बनेको थिएँ,’ उनले थपे ।
यस्तै, प्रधानमन्त्री दाहालले राजनीतिक घटनाक्रम र उतार चढावबीच जनतामा एक चोटी स्थापित भएको मान्यताअनुसार जानु उपयुक्त हुन्छ भनेर आफूले कांग्रेससँग सहकार्य गरेको बताए ।
कुनै समय राजनीतिक सहमति कार्यान्वयन गर्दा कांग्रेसकै नेताले ‘राजनेता’ भनेको स्मरण गर्दै प्रचण्डले प्रश्न गरे, ‘लोकतान्त्रिक प्रक्रियाबाट समीकरण बदल्दा कसरी विश्वासघाती र धोकेबाज भएँ ?’