काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिने भएकी छिन् । सत्ता साझेदार दलहरुबीच भएको सहमतिअनुसार उपाध्यक्ष अर्यालले राजीनामा दिने भएकी हुन् । अर्यालले बुधबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफू राजीनामा दिन तयार रहेको बताएकी हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएअनुसार अर्यालले एक/दुई दिनभित्रै पदबाट राजीनामा दिनेछिन् ।
“उहाँले दलहरुबीच भएको सहमतिलाई स्वागत गर्नुभएको छ, एक÷दुई दिनभित्रै उहाँले राजीनामा दिने बताउनुभएको छ”, प्रधानमन्त्रीसँग भएको छलफलबारे आचार्यले भनेका छन्, “उहाँले राजीनामा दिएपछि उपाध्यक्षको नयाँ निर्वाचन प्रक्रिया सुरु हुन्छ ।”
सत्ता साझेदार दलहरुबीच अध्यक्ष माओवादी केन्द्रले लिने र उपाध्यक्ष अन्य दलले लिने सहमति भएको छ । सोही सहमतिअनुसार मंगलबार अध्यक्ष पदमा नारायण दाहाल निर्वाचित भइसकेका छन् ।
फागुन २१ मा भएको ८ बुँदे सहमतिमा उपाध्यक्ष पद एमालेले लिने भन्ने सहमति भएको थियो । तर, मंगलबार एकीकृत समाजवादीसहित भएको ७ बुँदे सहमतीमा उक्त पद एमालेले लिने भन्ने बुँदा हटेको छ ।
नेताहरुले बताएअनुसार उक्त पद एकीकृत समाजवादीले लिने सहमति भएको छ । यद्यपि, ७ बुँदामा उक्त कुरा लेखिएको छैन ।