काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले र कांग्रेस एक ठाउँमा उभिदाँ तपाइँको हालत के होला भनि प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शर्माले प्रधानमन्त्रीको भूमिकाले त्यस्तो परिस्थिति नआउला र भनि प्रश्न गरे ।
“पोहोर एमाले विपक्षमा, अहिले कांग्रेस विपक्षमा, धोका खाएकाहरु एक ठाउँमा उभिए के होला ?”, उनले चेतावनी शैलीले प्रश्न गरे, “तब तपाइँको गद्दीको हालत के होला ?”
एमाले अध्यक्ष केपी शर्मा ओलीले संवाद गर्न सक्ने भन्ने कोणबाट दिएको अभिव्यक्तिलाई आधार मान्दै शर्माले कांग्रेस र एमालेबीच सहमति अहिलेको सत्ता नेतृत्व कता पुग्ने भनि प्रश्न गरे ।
“कुरा नचल्ने भन्नुभो पूर्वप्रधानमन्त्री ज्यूले, तलबाट हाम्रो सभापतिले इशारा गरेर कुरा चल्ने हो भन्नुभो”, शर्माले भनेका छन्, “कुरा नचल्नेहरूको कुरा चल्न सुरू भयो भने यहाँको यात्रा चाहीँ कतातिर चल्छ होला प्रधानमन्त्री ज्यू !”
एमाले अध्यक्ष ओलीले राष्ट्रिय मुद्दामा छलफल गरेर जानुपर्ने बताएका थिए । उनले मुलुकलाई निकास दिने उपायको खोजी गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई छलफलमा आउन आग्रह गरेका थिए ।