काठमाडौं । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि प्रश्न गरेको छ । उनले आफ्नो पार्टीलाई थाहा नदिई गठबन्धन भत्काइको भन्दै असन्तुष्टि प्रकट गर्दै प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन आज बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा सांसद पाण्डेले प्रधानमन्त्रीसँग रुष्ट भएका हुन् ।
नेता पाण्डेले कामका लागि दैनिक सयौँ युवा विदेशिनु पर्ने बाध्यता रहेको र प्रभावकारी रुपमा सार्वजनिक सेवा प्रवाह हुन नसकेको बताउँदै बेरोजगारी बढ्दा जनतामा निराशा बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
संसदबाटै बनेको कानूनका कारण मुलुकभरका नर्सिङ र मेडिकल कलेज बन्द हुने अवस्थामा रहेको उल्लेख गर्दै विद्यार्थी अध्ययनका लागि विदेशिनु परेको बताए ।
उनले जनताका कामका लागि बजेटमा सांसदको भूमिका बढाउन सरकारलाई सुझाव दिए । अन्तमा उनले प्रधानमन्त्रीलाई आफ्नो पार्टीले विश्वासको मत दिने जानकारी गराए ।