काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाअन्तर्गत पपुवा न्युगिनी (पीएनजी)ले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रन नबनाउँदै अलआउट भएको छ ।
नेपालसँग टस हारेर पहिला ब्याटिङ गरेको पीएनजी पूरा ओभर खेल्दै आठ विकेट को क्षतिमा १७१ रन बनाउँदा ८६ रनले विजयी भएको छ ।
हङकङको मोङ कोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाए । आरिफ शेखले १५ रन बनाउँदा कप्तान रोहित पौडेलले १२ रन मात्रै बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पीएनजीका लागि ओपनर टोली उराले सर्वाधिक ६१ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका र चार छक्का प्रहार गरे ।
यस्तै, हिरा वारेले १८, हिरी हिरीले १५, किप्लिन डोरिगाले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा राम्रो रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले तीन–तीन विकेट लिए । भुर्तेलले चार ओभर बलिङ गर्दै २४ रन खर्चेर तीन विकेट लिएका हुन् । यस्तै, चार ओभरमा ४१ रन खर्चेर तीन विकेट लिए । करण केसी र गुल्सन झाले एक–एक विकेट लिए ।
नेपालले हिजो भएको खेलमा पीएनजीलाई ८५ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको थियो । त्यसअघि भएको नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।
हिजो नै भएको अर्को खेलमा पीएनजीले हङकङलाई १० विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा नेपालसँग भेट गर्ने निश्चित गरेको थियो ।
नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दिप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, आकाश चन्द, लोकेश बम, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी र सागर ढकाल छन् ।