काठमाडौं । सत्ता गठबन्धनभित्रको विवाद संसदमा पोखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सत्ता साझेदारले असन्तुष्टि पोखेका हुन् । दलहरुले गठबन्धन परिवर्तन गरिरहने प्रचण्डको शैलीमाथि कटु आलोचना गरेका छन् ।
सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)ले प्रचण्ड नेतृत्वको सरकारको आयु कति होला भन्ने कोणबाट प्रश्न गरेको छ । जसपाका सांसद राजकिशोर यादवले इनफ इज इनफ भन्ने परिस्थिति आउला भने चेतावनी दिए ।
“आयु लामो भएर हुँदैन, जति बाँच्छ, त्यो कालमा उसले कसरी बाँच्यो भन्ने महत्त्वपूर्ण हुन्छ”, रामायणको कथालाई उल्लेख गर्दै यादवले भने, “उहाँ धेरै प्रयोग गर्ने मान्छे हुनुहुन्छ, इनफ इज इनफ होला, त्यसो नगर्नु होला ।”
उनले प्रचण्डको शैलीले साझेदारहरु धरापमा परिरहेको टिप्पणी गरे । “मलाई उहाँलाई शुभकामना दिन मन छ तर, कुन रुपले शुभकामना दिऊँ ?”, यादवले भनेका छन्, “बडो बिचित्रको कुरा भएको छ, अरु बेला सहयात्रीका कारण प्रधानमन्त्री धरापमा पर्छन्, यहाँ त प्रधानमन्त्री होइन, सहयात्रीहरु धरापमा परिरहेका छन् ।”
यादवले फागुन २१ मा गरेको आठ बुँदे सम्झौता किन फेरेको भनि प्रश्न पनि गरेका छन् । जसमा जसपाको असहमति रहेको उनको भनाई छ ।
जसपाका आलोचनात्मक विरोध गर्दा एकीकृत समाजवादीले पनि प्रचण्डमाथि थुप्रै प्रश्न उठाएको छ । साथै, गठबन्धन फेरिरहने शैलीले प्रचण्डमाथि ठूलो अविश्वासको अवस्था सिर्जना गराएको बताएको छ ।
संसद बैठकमा बोल्दै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले वीष पिएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन लागेको बताए । “विष पिएर हामी तपाईंहरुका साथमा छौं, हामीलाई बाटामा छाडेर खोलाले ठुटो बगरमा छोडे जसरी छोडेर हिँड्नुभयो” पाण्डेले भनेका छन्, “यो भन्दा अनैतिकता के हुन्छ ?”
उनले आफू अनुकुल गठबन्धन फेरिरहने चरित्रले दुर्घटना पार्न सक्ने चेतावनी पनि दिएका छन् । “ओलीजी र शेरबहादुरजीले घाँटी जोडे भने तपाईंको हालत के हुन्छ ? यस्तो खालको व्यवहारप्रति घोर आपत्ति छ”, पाण्डेले भनेका छन्, “नेपालको राजनीतिप्रति शंका, षडयन्त्रबाट उँभो लाग्दैन ।”
पाण्डेले एकीकृत समाजवादीका मागहरु सम्बोधन नभएको खण्डमा गठबन्धन त्याग्न ढिलो नगर्ने पनि चेतावनी दिएका छन् । जसपाका यादवले ८ बुँदे संशोधन गरिएकोमा आपत्ति जनाएका छन् भने एकीकृत समाजवादीका पाण्डेले भने ८ बुँदेप्रति आपत्ति जनाएका छन् ।