काठमाडौँ । ‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव’को पाँचौं संस्करण यही चैत १६ गतेदेखि आयोजना हुने भएको छ ।
बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच चैत १६ गते देखि १८ गतेसम्म पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव हुने जानकारी गराइयो ।
मानव अधिकार, दिगो विकास र सांस्कृतिक सृजनशीलतालाई फिल्ममार्फत मनाउने गरि चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा हुने यो महोत्सवमा ३७ विभिन्न देशका ६० वटा फिल्महरू सहभागी हुने बताइएको छ । साथै, महोत्सवमा फिल्म प्रदर्शन, प्यानल छलफल र मास्टर क्लास आयोजना हुने आयोजक संस्थाले बताएको छ ।
नेपाल संस्कृति तथा चलचित्र केन्द्रका अध्यक्ष सुवेदीले महोत्सवलाई मानवअधिकार र दिगो विकास जस्ता मुद्धाहरुमा संवादको मञ्चको रुपमा पनि प्रयोग गरिने बताएका छन् ।
अध्यक्ष सुवेदीले भन्छन्, ‘पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव, फिल्मको कलालाई मात्र नभई मानवअधिकार र दिगो विकास जस्ता महत्त्वपूर्ण मुद्दाहरूमा संवादको मञ्चको रूपमा पनि काम गर्ने एउटा कार्यक्रम प्रस्तुत गर्न पाउँदा हामी हर्षित छौँ । फिल्मको विश्वव्यापी भाषाको माध्यमबाट हामी सीमा पार सहानुभूति, समझदारी र सहकार्य बढाउने आशा गर्दछौँ ।’
महोत्सवको अन्तर्राष्ट्रिय निर्णायकहरुमा पोल्याण्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी लजुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेन्क, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक र कोरियाकी मिरियम ग्लेजर छन् । त्यस्तै, राष्ट्रिय निर्णायकमा मोहन निरौला, शान्तिप्रिय, आचा दवाडी, मोहन राई, सुष्मा कार्की, जय निशान्त र सुवास श्रेष्ठ प्रधान छन् ।