निफको सातौँ संस्करण काठमाडौंमा सुरु-Sutra News

निफको सातौँ संस्करण काठमाडौंमा सुरु

बिहिबार, १ चैत्र २०८०

बिहिबार, १ चैत्र २०८०

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को सातौँ संस्करण बिहीबारदेखि सुरु भएको छ ।



काठमाडौंमाको सुन्धारा स्थित सिभिल मलमा रहेको क्यूएफएक्स हलमा कार्यक्रमको आयोजना गरिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख अतिथियतामा समारोहको समुद्घाटन गरिएको हो ।

फेस्टिभल बिहीबार सुरु भएर सोमबार समापन हुने छ। पाँचदिने फेस्टिभलमा ४० मुलुकका ८८ फिल्म प्रदर्शन गरिने छन् । वर्ल्ड पानोरमा, नेपाल पानोरमा, डक्स, नेसनल डक्स, सर्ट्स इन्टरनेसनल र सर्टस् नेसनल विधामा फेस्टिभल हुने जनाइएको छ ।

यस्तै, फेस्टिभलको दोस्रो दिन शुक्रबार अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्दै छन् । उनीहरुले फिल्मका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रिया संवाद गर्ने भएका हुन् ।

चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआइको भविष्यसम्मका विषयमा छलफल हुने छन् । यस्तै, महोत्सवमा प्रकाश सुवेदीले निर्देशक हराएको सूचना शीर्षकमा रामबाबु गुरुङ,झरना थापा र दीपकराज गिरीसँग संवाद गर्ने भने नम्रता शर्माले चलचित्रमा लैङिक असमानताले पारेको प्रभावका बारेमा अभिनेत्री रीमा विश्वकर्मा, गायिका आनी छोइङ डोल्मा आदिसँग कुरा गर्नेछिन् ।

छलफलका शृंखला अन्तर्गत नै शनिबार प्रविधि विज्ञ तथा गीतकार करुण थापाले एआईका कारण भविष्यमा फिल्म निर्माणमा पर्न सक्ने असरका बारेमा एकल प्रस्तुति दिनेछन् भने शनिबार नै फिल्म समीक्षक प्रभाकार गौतमले अभिनेत्री केकी अधिकारी, निर्देशक प्रदीप भट्टराई र सम्पादक केपी ढुंगानासँग समीक्षा ताली कि गाली शीर्षकमा बहस चलाउनेछन् । शुक्रबार भने चलचित्र पत्रकार रघुनाथ सापकोटाले सिनेमाका नयाँ बजार र अवसरहरू शीर्षकमा दिनेश डिसी, जितु नेपाल, पुष्पलता न्यौपाने र जनक तामाङसँग छलफल चलाउनेछन् । सबै सेसनहरू पर्यटन बोर्डमा सञ्चालन हुन छन् भने सूत्र टिभी, निफ लगायत विभिन्न सामाजिक सञ्जालहरू बाट प्रत्यक्ष प्रसारण हुने छ ।

विश्व चर्चित गायिका आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’को प्रदर्शनसँगै यो सालको निफ सुरु गरिने कार्यक्रम रहेको छ । महोत्सवको समापन राष्ट्रिय सभा गृहमा गरिने आयोजकले जनाएको छ । यो सालको संस्करणमा ४० देशका ८८ फिल्म देखाइने छ ।

यस्तो छ फेस्टिभलमा केही रोचक लाइनअप, जुन दर्शकका लागि दर्शनीय हुनसक्छन्

बुएलवा : एन अफरिङ (भुटान)

चार्मी नेमचन्द छेडाद्वारा निर्देशित यो फिल्मले एक खेन्पो टेम्पाको बारेमा भन्छ, जसलाई मुख्य लामा (लोपेन रिन्पोछे)ले युवाहरूसँग काम गर्न गुम्बाबाट बाहिर पठाउँछ । यो फिल्म भुटानको देशप्रेमबाट प्रेरित छ, जुन त्यहाँको राजाले युवालाई दिने सन्देशबाट प्रेरित छ । फेस्टिभलमा यो मार्च १६ मा स्क्रिनिङ हुनेछ ।

गुड अटम, ममी (चीन)

शिझोङ चेनद्वारा निर्देशित यो फिल्मले एक उखु किसान फोङ-ताईको कथालाई चित्रण गरेको छ, जसको नवजात छोरीलाई एकाएक बेपत्ता पारिन्छ । हराएकी छोरीको खोजीका लागि उक्त पात्रले गर्ने खोज यात्राको कथा यसमा छ । निर्देशक चेनका अनुसार जादुयी वर्षामा नवजात शिशु रहस्यमय रूपमा बेपत्ता भएको कथाको फिल्मले दर्शकलाई पर्याप्त सस्पेन्स र प्रेरणा दिन्छ । मार्च १८ मा यो फिल्म स्क्रिनिङ हुनेछ ।

रिमेम्बरिङ एभ्रिनाइट (जापान)

युई कियोहारा निर्देशित यो फिल्मको कथावस्तु विभिन्न पुस्ताका तीन महिलाको वरपर घुम्छ । ती महिला जो टोकियो सहरमा विगतका सम्झना सम्झना गर्दै हिंड्छन् । यो फिल्म मार्च १४ बिहीबार स्क्रिनिङ हुँदैछ ।

चेरी जुस (जर्मनी)

मेर्सिहा हुसागिक निर्देशित यो फिल्मले युद्ध समाप्त भएपछि के कुरा बाँकी छ भन्ने प्रश्नको उत्तर खोज्छ । साराजेभो सोल्मा नामक एक ठाउँमा एक जवान बोस्नियाली पटकथा लेखक र निकलस नामक जर्मन अभिनेतासँग अप्रत्यासित जम्काभेट हुन्छ । ‘युद्धले के छोड्छ र योसँग कसरी व्यवहार गर्ने भन्ने प्रश्नबाट प्रेरित भएर मलाई फिल्म बनाउन प्रेरित भएको छ,’ निर्देशक मेर्सिहा हुसागिक भन्छिन् । यो फिल्म मार्च १६ मा स्क्रिनिङ हुनेछ ।

कोली एसरु (भारत)

चम्पा शेट्टी निर्देशित यो फिल्मले १० वर्षीया छोरीको चिकेन करीको चाहना पूरा गर्न त्याग र चुनौती सहने गरिब महिलाको कथालाई समेट्छ । सन् १९९० मा मिजोर नजिकको एक गाउँको कथा यसमा समेटिएको छ । मार्च १५ मा यो फिल्म स्क्रिनिङ हुने तयारीमा छ ।

लुटो (आयरल्याण्ड र मेक्सिको)

एन्ड्रेस आरोची टिनाजेरो निर्देशित यो ११० मिनेट लामो फिल्मले प्रेमिकाको मृत्युले शोकमा डुबेको पात्र डेमियनको मेक्सिकोको यात्राको कथा पेश गर्छ । सम्झना र पश्चातापले सताएको उसले अपरिचितसँग कुराकानीमार्फत सान्त्वना खोज्छ । मार्च १८ मा यो फिल्म स्क्रिनिङ हुनेछ ।

लाजरस पथ (सर्विया)

इभान जोभिक निर्देशित यो फिल्म लाजरस पाथ, लाजर नामक पात्रको वरपर घुम्छ, जसले सडक कलाकार र मूर्तिकारको रूपमा वर्षौंको यात्रापछि आफूलाई एउटा सानो भूमध्य टापुमा भेट्टाउँछ । उक्त टापुको प्रशासनसँग कुराकानी गर्न नसकेपछि त्यहाँबाट निस्कने उसको योजना जटिल बन्न पुग्छ । मार्च १५ मा यो फिल्म स्क्रिनिङ हुनेछ ।

पिफउल (दक्षिण कोरिया)

सुङबिन ब्यून निर्देशित यो फिल्मले एक ट्रान्सजेन्डर पात्र म्युङको कथालाई चित्रण गरेको छ । उनको परिवारले उनलाई स्वीकार गर्दैनन् । त्यसैले उनी छुट्टिएर बस्छिन् । स्वीकार गराउन उनीसँग शल्यक्रियाको मात्र उपाय छ । तर शल्यक्रियाका लागि पैसा कमाउने एउटै माध्यम भनेको नृत्य प्रतियोगिता जित्नु हुन्छ । तर उनको योजनाअनुसार काम अघि बढ्दैन । यो फिल्म मार्च १६ मा स्क्रिनिङ हुँदैछ ।

भगवान भरोसे (भारत)

यो फिल्मका निर्देशक शिलादित्य बोरा हुन् । यसले दुई प्रभावशाली बच्चाको कथा बताउँछ । द्रुतरूपमा परिवर्तन भइरहेको सामाजिक-राजनीतिक परिदृश्यलाई यसको कथावस्तुले समेटेको छ । यो फिल्म मार्च १७ मा स्क्रिनिङ हुँदैछ ।

वाइल्ड स्वान्स (भारत)

रजनी बसुमातारी निर्देशित यो फिल्मले दशकौंको सशस्त्र द्वन्द्वबाट मुक्ति पाएको पितृसत्तात्मक समाजमा महिलाको जीवनको चित्रण गर्छ । यो ९५ मिनेट लामो फिल्म उत्तरपूर्वी भारतको बोडोल्याण्डको फेदमा सेट गरिएको छ । मार्च १५ मा यो फिल्म स्क्रिनिङ हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट