काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो जीवनमा तेस्रोपटक प्रधानमन्त्रीको पदमा आसिन छन् । पछिल्लो १४ महिनादेखि प्रधानमन्त्रीको पदमा रहेका उनले बुधबार मात्रै तेस्रोपटक विश्वासको मत लिए ।
गत २१ गते सोमबार रातारात सत्ता समीकरण गरी नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रसहित पाँच दलीय गठबन्धन त्यागेका प्रचण्डले एमालेसँग काँध मिलाए । गत वर्ष पुस १० गते प्रधानमन्त्री बन्नुअघि प्रचण्डले कांग्रेससँगको गठबन्धन त्यागेर एमालेसँग काँध मिलाएका थिए ।
प्रधानमन्त्री प्रचण्डकै भाषामा भन्ने हो भने त्यसको ६६ दिनपछि एमालेलाई लात हान्दै उनले चुनावअघिको गठबन्धन कांग्रेससँगै काँध मिलाए । कांग्रेससँग मिलेसँगै उनले गत वर्ष चैत्र ६ गते दोस्रोपटक विश्वासको मत लिए ।
प्रधानमन्त्रीमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले एक वर्ष पूरा नहुँदै हिजो बुधबार एमाले–माओवादीसहित पाँच दलीय गठबन्धनबाट फेरि विश्वासको मत पाए । प्रधानमन्त्रीलाई दिएको विश्वासको मत कांग्रेसले फिर्ता गरेसँगै संवैधानिक व्यवस्थाअनुसार बुधबार विश्वासको मत लिएका हुन् ।
एक वर्षमा तीनपटक सत्ता गठबन्धन परिवर्तन गरी विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले भन्ने एउटै वाक्य थियो– ‘ममाथि आक्रमण भयो, देश र जनताका लागि काम गर्ने वातावरण हुन सकेन, यो गठबन्धनबाट म आजित भएँ ।’
प्रधानमन्त्रीले आफैसँग सहकार्य गरेका दलमाथि अविश्वासको आरोप लगाउँदै गठबन्धन परिवर्तन गरिरहँदा लगातार तेस्रोपटकसम्म विश्वासको मत पाए । प्रधानमन्त्री बनेर पहिलोपटक प्रतिनिधिसभामा इतिहास बनाउने गरी उनले ९८ प्रतिशतभन्दा बढी विश्वासको मत पाए । यो क्रम घट्दै आएको छ ।
आफूमाथि विश्वासको मत घट्दै गर्दा यसको प्रमुख कारण प्रधानमन्त्री प्रचण्डले पेश गरेको अविश्वास प्रमुख कारण हो । उनले बुधबार संसदको रोष्टममै दलहरुप्रति अविश्वास व्यक्त गर्दै भने, ‘सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीले यसको अराजनीतिक व्याख्या गर्नु भयो, ममाथि निजी आक्षेप र आक्रमण गर्नु भयो ।’ यसअघि उनले एमालेसँग छुट्टिँदा पनि यस्तै अभिव्यक्ति दिएका थिए ।
यस क्रममा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष कांग्रेसलाई एमालेसँग मिलेर देखाउन चुनौती दिन भ्याए । सांसदहरूले प्रचण्डमाथि विश्वासको मत किन दिने ? दुई ठूला दल मिले तपाईंको अवस्था के हुन्छ ? भनेर प्रश्न गरेका थिए । यस प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले दुई ठूला पार्टी मिल्नलाई चुनौती दिएका हुन् ।
‘ठूला दलहरू हामी मिल्यौँ भने तेरो हालत के हुन्छ ? भनेर पहिले पनि भनियो, आज पनि भनियो, मेरो त कामना छ तपाईंहरू सबै मिल्नु भयो भने माओवादी प्रतिपक्षमा जान्छ, कांग्रेसका नेताहरूले त्यसो भनेर ठूला दलहरू मिल्दा माओवादी केन्द्र डराउँदैन,’ उनले भने ।
उनले हिजो कांग्रेस र एमाले मिलेर आफूहरूको टाउको काट्न खोजेको आरोप लगाउँदै भने, ‘राजनीतिक रुपले हित र फाइदा हुन्छ भने गठबन्धनमा मिल्ने हो, विचार नमिले छाड्ने हो ।’
संसदमै दुई ठूला दल मिल्ने कुरा
प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा केही दिनअघि प्रतिपक्षी बनेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कसरी वर्ष दिनमा तीन पटक विश्वासको मत लिनु पर्ने अवस्था आयो ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे ।
‘आज सदनमा पुँजीगत बजेट खर्च हुन नसकेको, शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषय, संघीयता बलियो बनाउने, शिक्षा स्वास्थ्य सुधारका विषय, इजरायलमा हमासको आक्रमणका बेला अज्ञात रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ, रुस–युक्रेन युद्धमा रुसी सेनामा लडिरहेका र मरिरहेका नेपाली नागरिकका विषयमा छलफल हुनु पर्ने होइन ?,’ उनले भने ।
यस्तै, उनले संसदमा सम्बोधन गर्दै कांग्रेस र एमाले मिले तपाईंको अवस्था के हुन्छ ? भन्द्र प्रचण्डलाई प्रश्न गर्न भ्याए । रोस्टमबाट कटाक्ष गर्दै उनले भने, ‘पोहोर एमाले विपक्षमा, अहिले कांग्रेस विपक्षमा, धोका खाएकाहरु एक ठाउँमा उभिए के होला ?, तब तपाईंको गद्दीको हालत के होला ?’
प्रतिपक्षी दल मात्रै नभई सत्ता पक्ष नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले समेत प्रधानमन्त्रीमाथि प्रश्न गर्न भ्याए । उनी आफ्नो पार्टीलाई जानकारी नदिई गठबन्धन भत्काइको भन्दै प्रधानमन्त्रीसँग रुष्ट भनेका थिए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको घाँटी जोडियो भने तपाईको हालत के हुन्छ भन्दै प्रश्न गर्न भ्याए । ‘अघि भर्खर कुरा आएको आली जी र शेरबहादुर जीको घाँटी जोडियो भने तपाईंको हातल के हुन्छ ?,’ उनले भने, ‘त्यसो हुनाले यो खालको जे व्यवहार भो, त्योप्रति घोर आपत्ति नेपालको राजनीतिप्रति नै शंका र अविश्वास भएको देश उँभो लाग्दैन ।’
यस्तै, सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले प्रधानमन्त्रीको शैली र व्यवहारले साझेदारी दलहरु धरापमा परेको बताए । ‘मलाई उहाँलाई शुभकामना दिन मन छ, तर कुन रुपले शुभकामना दिऊँ ?,’ उनले भने, ‘बडो विचित्रको कुरा भएको छ, अरु बेला सहयात्रीका कारण प्रधानमन्त्री धरापमा पर्छन्, यहाँ त प्रधानमन्त्री होइन, सहयात्रीहरु धरापमा परिरहेका छन् ।’
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउँदै गर्दा पेश गरेका अविश्वासप्रति सत्ता साझेदारी दलका नेताहरुसमेत आक्रोशित बने । प्रतिपक्षी दलमाथि हैन आफ्नै पार्टीले समर्थन गरेको प्रधानमन्त्रीमाथि प्रश्न गर्न भ्याए ।