काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कांग्रेसले सदनमा उठाएका विषयलाई सामान्य रुपमा लिए कठोर कदम चाल्न बाध्य हुने बताएका छन् ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै खतिवडाले सहकारी र सुन प्रकरणका बारेमा आफूहरूले सदनमा प्रधानमन्त्रीको जवाफ माग गरेको भन्दै सदनमा उठाएका विषयलाई सामान्य रुपमा लिए कठोर कदम चाल्न बाध्य हुने बताए ।
संसदलाई अवरुद्ध गर्ने अवस्था सकेसम्म आउन नदिने तर संसदीय पद्धतीअनुसार गर्ने काम कारबाही सरकारले गरेन भने अर्को कदम चाल्ने उनको चेतावनी थियो ।
उपप्रधान एवं गृहमन्त्री वा अन्य मन्त्रीहरुका विषयमा सदनमा प्रश्न उठ्नु स्वभाविक नभएको उनको भनाइ थियो । उनले सुन तस्करी अध्ययन प्रतिवेदन सबै सांसदको हातमा आउनु पर्ने प्रतिक्रिया दिए ।
उनले गृहमन्त्रीले आफ्नो मुद्दामा चलखेल गर्ने काम नगर्ने र अरु मुद्दामा पनि गलतलाई कारबाही गर्ने गरी अघि बढ्न सुझाव दिएको धारणा राखे । उनले सुशासनको कुरा गर्ने प्रधानमन्त्रीले विभिन्न प्रकरणमा मुछिएकालाई मन्त्रिपरिषदमा सहभागी गराएको भन्दै आपति जनाए ।