काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनु पर्ने बताएका छन् ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ६ नं वडा कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दल एक ठाउँमा हुनु पर्ने बताएका हुन् ।
‘सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ,’ उनले भने, ‘विकास निर्माणका काम अगाडि बढाउन देशमा सबैले शान्ति उपभोग गर्न सबै मिल्न जरुरी छ ।’
अध्यक्ष ओलीले नवनिर्मित वडा कार्यालय भवनबाट जनताले सहज रूपमा सेवा पाउनु पर्ने बताए । ‘यस वडा कार्यालयबाट यहाँका जनताले सेवा सुविधा र विभिन्न सहयोग प्राप्त गर्नेछन् भन्ने मलाई विश्वास छ,’ उनले भने, ‘यहाँका जनताका समस्या समाधानका लागि म पहल गर्छु ।’
कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले दोधारा चाँदनीका जनताका समस्या समाधानका लागि पहल गरिदिन अध्यक्ष ओलीसँग आग्रह गरे ।
आजै अध्यक्ष ओलीले महाकाली नदीमा निर्मित चार लेनको पक्की पुल र दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको स्थलगत अवलोकन गरेका थिए ।