काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले फिल्मलाई मनोरञ्जनको रुपमा मात्रै लिन नहुने बताएकी छिन् ।
बिहीबार सुन्धाराको सिभिल मल स्थित क्युएफएक्समा नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)को सातौँ संस्करण महोत्सवको प्रमुख अतिथिको रुपमा उपस्थित हुँदै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेकर्मीको उपस्थितिमा महोत्सवको उद्घाटन भएको कार्यक्रममा बोल्दै मन्त्री शर्माले फिल्मलाई मनोरञ्जनको रुपमा मात्रै लिन नहुने भन्दै सिनेमाले सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण योगदान दिनेमा जोड दिइन् ।
साथै, विश्वभरीका फिल्म मेकरका लागि महत्वपूर्ण स्थान रहेको बताउँदै उनले भनिन्, ‘हिमाल, पहाड र तराईको भौगोलिक विविधताको संगम हुनुका साथै प्राकृतिक र साँस्कृतिक हिसाबले फिल्म छायांकनका लागि विश्वमै महत्वपूर्ण स्थल हो । त्यसैले सिंगो नेपाल नै फिल्म स्टुडियोको हिसाबले विकास गर्न आवश्यक छ ।’
‘नेपालको गौरवशाली इतिहास, साँस्कृतिक सम्पदाको अखण्ड विरासत, फिल्मका लागि महत्वपूर्ण कथा वस्तु पनि हुन् ।’ नेपाल फिल्मका लागि आवश्यक कथाका हिसाबले पनि सम्पन्न रहेको जनाउँदै उनले भनिन्, ‘मानवको दुःखको कारण र यसको समाधानको विधि पत्ता लगाएर विश्वलाई सुख र शान्तिको सन्देश दिने गौतम बुद्धको जन्मस्थल नेपाल बहुभाषिक, बहुसंस्कृतिक र बहु जातिय मुलुकहो । जहाँ अनेक कथा भेटिन्छन् ।’
नेपाली संस्कृतिको सम्वद्र्धन, संरक्षण र प्रचारका लागि फिल्मले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा मन्त्री शर्माले जोड दिइन् ।
नेपाली फिल्मले यहाँको सामाजिक, सांस्कृतिक, आर्थिक समुन्नति तथा आपसी सद्भाव कायम गर्न ठूलो योगदान दिँदै आएको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, ‘नेपाली फिल्म क्षेत्रलाई मर्यादित, व्यावसायिक बनाउन र मौलिक एवं स्तरीय नेपाली चलचित्र निर्माणमा अभिप्रेरित गर्न तथा यसको बजारीकरणमा समयसापेक्ष विकास गर्दै लैजान सबैको उत्तिकै योगदान र सकारात्मक भूमिका अपरिहार्य रहन्छ ।’
अब नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिँदै मन्त्री शर्माले उच्चतम प्रविधिको प्रयोग गरेर गुणस्तरीय फिल्म बनाउने र विश्व बजारमा नेपाली फिल्मलाई विस्तार गर्ने दुवै काम महत्वपूर्ण भएको बताइन्।
‘नेपाली फिल्मको विश्वव्यापी बजारीकरणले एकातिर फिल्म क्षेत्रको आर्थिक उनन्नयनमा टेवा पुग्नेछ भने अर्कोतिर पूर्वीय संस्कृतिको प्रवर्धन र विस्तारमा सहयोग पुग्नेछ’– मन्त्री शर्माले भनिन्- ‘सूचना प्रविधिका कारण सिर्जित विश्वव्यापीकरणले नेपालजस्ता प्राचीन मुलुकहरूको मौलिक संस्कृति लोप हुने खतरा बढ्दै गएको छ । त्यसो हुन नदिन हाम्रा मौलिक संस्कृतिसँग जोडिएका कथावस्तुमा धेरैभन्दा धेरै फिल्म निर्माण गर्ने र त्यसको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने आवश्यकता छ ।’
सरकारले नेपाली फिल्म क्षेत्रलाई थप रचनात्मक र सिर्जनशील बनाउन सहयोग पुग्ने गरी स्टोरी बैङ्क स्थापना र ऐतिहासिक फिल्म तथा वृत्तचित्र निर्माणलाई प्रोत्साहन, काभ्रेमा फिल्म छायाङ्कन स्टुडियो र दोलखा फिल्म नगरी आयोजना, बाल फिल्म महोत्सव जस्ता कार्यक्रम अघि सारेको जानकारी दिँदै उनले यो वर्षदेखि फिल्मको माध्यमबाट सामाजिक सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याउने फिल्मकर्मीहरूलाई सम्मानको कार्यक्रम पनि थालिएको बताइन्।
सरोकारवालासँगको परामर्शमा फिल्म क्षेत्रसँग सम्बन्धित कानुन परिमार्जनमा सरकारले गृहकार्य सुरु गरेको जानकारी दिँदै मन्त्री शर्माले यस क्षेत्रमा आउने नीति र कानुनमा विरोध र समर्थन मात्रै भन्दा रचनात्मक सुझाव पनि विज्ञ र सरोकारवालाहरूलाई आग्रह गरिन्। महोत्सव चैत ५ गतेसम्म चल्ने छ ।