काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद प्रदिप पौडेलले गृहमन्त्री लामिछाने छानबिनको घेरामा रहेको भन्दै नैतिकताको आधारमा राजीनामा दिन माग गरे ।
“आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहुँदैनथ्यो, प्रधानमन्त्रीले प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो” प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पौडेलले भने, “अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा हुँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ ? पीडितहरुको विश्वास जित्न नसकेको सरकारले कसरी वित्तीय संकटलाई समाधान गर्न सक्छ ? म आग्रह गर्न चाहन्छु मेरा माननीय मित्र गृहमन्त्रीज्युलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस् ।”
कांग्रेसले गृहमन्त्रीको सन्दर्भमा प्रधानमन्त्रीबाट जवाफ दिनुपर्ने माग गरेको छ । कांग्रेसले प्रश्नबाट नभाग्न पनि प्रधानमन्त्रीलाई चेतावनी दिएको छ ।
“विगत केही दिनदेखि निरन्तर रुपमा प्रमुख प्रतिपक्षले संसदमा प्रश्न उठाउँदै आएको छ,प प्रधानमन्त्री त्यो प्रश्नको सामना गर्नुको साटो भागेर हिँड्नुभएको छ । प्रधानमन्त्रीको यस विषयमा डबल स्ट्यान्डर्ड देखियो”, पौडेलले भनेका छन् ।
कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग गरिरहँदा अर्थमन्त्री वर्षमान पुनमाथि छानबिनको माग गरेको छ । पुनमाथि सुन तस्करी प्रकरणलाई लिएर प्रश्नहरु उठेको भन्दै छानबिन गर्नुपर्ने कांग्रेसको माग छ ।
कांग्रेस सांसद राजेन्द्रकुमार केसीले अर्थमन्त्रालय जस्तो गम्भीर मन्त्रालयमा विवादित पात्रको नेतृत्व हुनु दुर्भाग्य भएको बताए । उनले अर्थमन्त्रीलाई अबिलम्ब छानबिनमा ल्याउन माग गरे ।
केसीले अर्थमन्त्री पुनले तस्करसँग गरेको संवाद अडियो संसदमा प्रसारण गर्न पनि माग गरेका छन् ।
“अर्थमन्त्री पुनमाथि गम्भीर प्रश्न उठेको छ, सुन तस्करसँग निरन्तर संवादमा रहेको प्रमाणहरु बाहिर आएका छन्”, केसीले भनेका छन्, “अर्थमन्त्री पुनले सुन तस्करसँग गरेको छलफलको भ्वाइस डिटेल प्रसारण होस्, जसलाई ल्याउन रुलिङ्ग होस् ।”