काठमाडौँ । चर्चित भारतीय र्यापर बादशाहले बलिउडमा मात्र नभएर नेपालमा पनि त्यति नै लोकप्रिय छन् । उनका धेरैजसो गीत युट्युबको ट्रेन्डिङमा पर्ने गर्छन् । त्यसैले त उनीसँग सहकार्य गर्नु धेरैको सपना रहेको छ । यस्तोमा अब नेपाली गायिका प्रजिनाले बादशाहसँग सहकार्य गर्ने भएकी छिन् ।
युवा पुस्ताले विशेष रुचाएकी गायिका प्रजिनाका धेरै जसो गीत नै हिट छन् । त्यसमा पनि यो सहर बोलको गीत उनको चिनारीको रूपमा पर्दछ । आफ्नो पृथक् आवाजले सबैलाई आफ्नो फ्यान बनाउँदै आएकी उनले अव भारतीय जनतालाई पनि आफ्नो आवाजको जादुमा झुमाउने भएकी छिन् ।
यसको सुरुवात उनले भारतकै टप पपस्टार बादशाहसँगको सहकार्यबाट गर्ने भएकी छिन् । प्रजिनाले आफ्नो सामाजिक सञ्जालबाट बादशाहको पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएकी छन् ।
नेपाली गायिकाको यो भारतीय पप उद्योगमा भएको छलाङलाई लिएर फ्यान पनि उत्साहित छन् । वास्तवमा आफ्नो १२ वर्षभन्दा लामो सांगीतिक करिअरलाई सेलिब्रेसन गर्न बादसाहले ‘एक था राजा’ नामक एल्बम ल्याउने घोषणा गरेका छन् । जुन सोमबार रिलिज हुँदै छ ।
करिब १८ महिनासम्म क्युरेट गरिएको यो नयाँ एल्बमले परम्परागत संगीत निर्माणको शैलीलाई बदल्ने धेरैको विश्वास पनि छ । १६ गीतको लाइनअप तयार पारिएको यस एल्बममा २५ भन्दा बढी निर्माता रहेका छन् ।
विश्वभरका संगीतकर्मी पनि जोडिएको यस एल्बमकालागि बादशाहले चर्चित भारतीय र्यापरहरु आस्था गिल, एमसी स्टान, डिभाइन, रफ्तार, गायक अरिजित सिंह, एक्ट्रेस नोरा फतेही लगायतसँग सहकार्य गरेका छन् ।
बिहीबार बेलुका भिडियोमार्फत एल्बम घोषणा गर्दै उनले रोचक लाइनअप पस्किएका हुन् । उक्त लाइनअप भिडियोमा आवाज भने बलिउड अभिनेता किङ खान अर्थात् शाहरुख खानले आवाज दिएका छन् । यो लाइनअपमा नेपाली गायिका प्रजिनाको को नाम पनि समावेश रहेको छ । प्रजिनाले भारतीय गीतमा प्रवेश गर्ने पहिलो चरणमा नै यति धेरै स्टारसँग जोडिन पाएकी छिन् ।