केपी ओलीलाई राजेश हमालको प्रश्न- फिल्ममा तपाईँ के खोज्नु हुन्छ ?-Sutra News

केपी ओलीलाई राजेश हमालको प्रश्न- फिल्ममा तपाईँ के खोज्नु हुन्छ ?

शुक्रबार, २ चैत्र २०८०

शुक्रबार, २ चैत्र २०८०

काठमाडौं । विश्वभरका कथाहरूको उत्सव भन्ने आशयका साथ यति वेला सातौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव बिहीबारबाट सञ्चालन भइरहेको छ । पाँच दिनसम्म हुने यो महोत्सव अवधिमा ४० देशका ८८ वटा फिल्महरू देखाइँदै छ भने विभिन्न ८ वटा शीर्षकमा सेसन पनि हुँदै छ ।



निफको दोस्रो दिन शुक्रबार पहिलो सेसन स्वरूप ‘सिनेमा संवाद शीर्षक’ मा अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्दै केही प्रश्न गरेका छन् ।

जसमा महानायक हमालले सिनेमा क्षेत्रमा रहेर विभिन्न प्रश्नहरू गर्दै पूर्वप्रधानमन्त्री ओलीलाई तपाईँ फिल्म हेर्दा के खोज्नु हुन्छ भनेर प्रश्न गरेका थिए ।

उक्त प्रश्नको जवाफ दिँदै ओलीले आफूले फिल्ममा दुई कुरा हेर्ने गरेको बताएका छन् ।

ओलीले भने, ‘पहिलो सिनेमाको कथा, सिनेमाले कस्तो कथा वस्तु उठाउँदै छ वा कसको कथा भन्दै छ त्यसलाई हेर्ने । दोस्रोमा कलाकारहरूको चरित्र हेर्ने गरेको छु। यदि फिल्ममा कलाकार कविको रूपमा देखा पर्दै छन् भने उ साँचै नै कवि देखिनु प¥यो । कलाकारले आफ्नो चरित्र राम्रो सँग निभाउन सकेन भने फिल्म नै फिका हुने भएकाले कलाकारको अभिनय राम्रो छ छैन त्यो हेर्छु ।

यस्तै, ओली अघि थप्छन्, ‘जो मानिस सक्रिय छ भन्छौ नि उसको अर्को पाटो पनि छ । त्यो अचेत भएर निस्किृय पनि हुन्छ । मानव जीवनका विभिन्न पक्षहरू छन् । अवस्था परिस्थिति हुन्छ । विभिन्न मौसम हुन्छ । मानिसले त्यो कसरी झेल्ने भन्ने कला पनि विकास गर्दै लगेको छ । यो गतिशील संसार छ । नहोस् भनेको कुरो हुन्छ यसलाई बुझ्नुपर्छ ।’

‘जीवन मृत्यु र कठिनाइसँग हिँडिरहेको हुन्छ । आराम र व्यायाम, जागरण र निन्द्रा, चेतना र अचेतनासंँगै हिँडेको हुन्छ । यसै गरेर जीवनका विभिन्न पक्षहरू मध्य कला एउटा महत्त्वपूर्ण पक्ष हो’, उनी भन्छन् ‘फेरि आधारभूत कुरो हो के हो भने पहिले जीवन चाहियो नि, बाँच्न पर्‍यो ।’ कला नबुझेका जीवहरूले पनि जीवन बाँचेको उल्लेख गर्दै ओलीले मानव जीवन फरक भएको र जीवन अर्थपूर्ण र खुसीयाली ढङ्गले बाँच्नुचाहिँ बचाई भएको धारणा राखे ।

‘मानिस अन्य जीवनभन्दा बाँच्ने कुरोमा पृथक राख्छ । कलाका विभिन्न पक्ष साहित्य, संस्कृति, नृत्य, वाद्यवादन, ताल, लय संगीत आदिको अर्थ हुन्छ’ उनी भन्छन्– ‘बाँच्न मात्र गाइभैंसी बाँचे जसरी मानिस बाच्न सक्छ होला । तर मानव जीवन बाँच्नका लागि कला चाहिन्छ ।’ त्यसले जीवन अन्यभन्दा पृथक ढंगबाट बाच्न सकिने ओलीको भनाई छ ।

मानिस जस्तो चेतनशील प्राणीका लागि कलाको एकदमै महत्त्व रहेको उनको धारणा राख्दै ओलीले जीवन नै कला भएको बताएका छन् । उनले भने, ‘वास्तवमा जीवन भनेकै कला र आर्टसँग सम्बन्धित छ । मानव सभ्यताले प्रगति गर्‍यो भन्नु एक किसिमले कला सिक्यो भन्नु हो । जीवनको विकासमा सिक्ने कलादेखि बाँच्नका लागि गर्ने सबै क्रियाकलाप कला हो ।’

‘हरेक जीवनसँग कलाको महत्त्व हुन्छ । जीवनसँग, जैविक प्रवृत्ति बाँच्ने प्रवृत्ति, इच्छाबाट कला सुरु हुन्छ’, उनले अगाडि भने, ‘जीवनको इच्छाअनुसार सुरु हुन्छ । त्यसलाई जीवनका सुखहरू, मनोरञ्जन र आनन्दसँग विकास गर्ने कुरोमा सम्बन्धित हुन्छ ।’ उनले कुनै पनि वस्तुलाई सुन्दर ढङ्गले प्रस्तुत गर्नु पनि एउटा कला भएको बताए ।

‘मानिस सचेत प्राणी भएकोले कला र साहित्यको विकास गर्‍यो । यो एक अर्कोसँग जोडिएर विभिन्न विधामा आयो’ उनले अगाडि थपे– ‘यो मानव जीवनको विभिन्न पक्षहरूमा सुन्दर प्रस्तुति थियो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट