बलिउड अभिनेता अमिताभ बच्चन अस्पतालमा भर्ना भएका छन् । ८१ वर्षिय अभिनेतालाई शुक्रबार बिहान ६ बजे मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो ।
भारतीय संचारमाध्यमका अनुसार बच्चनको स्वास्थ्य अवस्थामा यतिबेला सुधार आएको जनाइएको छ । उच्च सेक्युरिटीको साथ अस्पताल पुगेका उनको एन्जियोप्लास्टी शल्यक्रिया गरिएको छ ।
केही दिनअघि उनको खुट्टामा चोट लागेको थियो। यस्तैमा उनी अस्पताल भर्ना भएको खबर आएको हो।
सन् २०२२ मा ‘कौन बनेगा करोडपति १४’को शोका क्रममा अमिताभको खुट्टाको नशा धातुको ब्लेडले काटिएको थियो । रगत निकै बगेपछि उनलाई अस्पताल लगिएको थियो ।
सन् २००० मा अमिताभलाई हेपाटाइटिस बी भएको पत्ता लाग्यो। त्यसैगरी, वर्ष २०२० र २०२२ मा दुईपटक उनी कोभिड संक्रमित भए। जसका कारण उनी अस्पताल भर्ना हुनुपरेको थियो।
फिल्म ‘कुली’को सेटमा दुर्घटना भएपछि उनलाई रगतको आवश्यकता पर्यो। उनलाई रगत दिन रक्तदाताको भीड लागेको थियो। उनलाई २ सय दाताबाट ६० बोतल रगत दिइएको थियो ।
सर्जरीपछि बच्चनले ट्वीटमार्फत आफ्ना शुभचिन्तकलाई धन्यवाद दिएका छन् । यसमा लेखिएको छ, ‘तपाई सबैलाई धेरै धन्यवाद ।’