काठमाडाैं । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखको जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई दिएकाे छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सीआईबीमा ज्ञवालीलाई पठाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागमा तानिएकाे उनले जनाइन् ।
सुन तस्करीसम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई कारबाही स्वरूप प्रधान कार्यालय तानिएकाे हाे ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गरेको थियो ।