सेन्सर नीतिको विरुद्धमा भामको कडा टिप्पणी : सेन्सरको नीति सिर्जनाविरोधीमात्रै होइन, अलोकतान्त्रिक पनि छ-Sutra News

सेन्सर नीतिको विरुद्धमा भामको कडा टिप्पणी : सेन्सरको नीति सिर्जनाविरोधीमात्रै होइन, अलोकतान्त्रिक पनि छ

आइतबार, ४ चैत्र २०८०

आइतबार, ४ चैत्र २०८०

काठमाडौं । निर्देशक मीनबहादुर भामले आफूलाई सेन्सर हुने देशको नागरिकको रुपमा कल्पना पनि गर्न नसकेको बताएका छन् । निर्देशक भामले शनिबार सातौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ‘निफ’मा बोल्दै नेपालमा फिल्म सेन्सरको अभ्यासप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।



भाम भन्छन्,‘आजको समयमा पनि सिनेमामा सेन्सर हुनु दुःखद कुरा हो । हरेक कुशल शासकले यस्तो परिबन्धलाई खुकुलो पार्दै जान्छ । शासकहरुको डिक्टेरसिप बढी भएको छनकको रुपमा र शासन सत्ता सर्जकसँग डराएको रुपमा म सेन्सरलाई लिन्छु । जुन देशमा बस्यो त्यो देशको कानुन मान्दिनँ भन्नुपर्दा दुःख त लाग्छ । तर, सर्जकको सिर्जनामाथि कैँची चलाएर शासन सत्तामा भएको मान्छेले नेपाली फिल्मको विश्व बजारीकरण गर्नुपर्छ।’

उनले अगाडि भने, ‘आफूलाई सेन्सर नगरी फिल्म रिलिज गर्ने इच्छा भएको पनि बताए । म त्यस्तो देशको फिल्ममेकर हुँ, जहाँ फिल्म सेन्सर हुँदैन भन्ने दिन कहिले आउला, विदेशी फोरममा ?’

भामले कर तिरेर चुरोट, रक्सी सेवन गर्न भने पाइने तर सोही दृश्य देखाउँदा अर्को सर्त मान्नुपर्ने शैलीको पनि विरोध गरे । फिल्ममा रक्सी, चुरोट सेवन गर्दा ‘धुम्रपान तथा मद्यपान स्वास्थ्यका लागि हानिकार छ’ भनेर उल्लेख गर्नुपर्छ । उनले थपे।

निर्देशक भामले विश्वमा मौलिक फिल्मको बहस लामो समयदेखि भइरहेको भएपनि नेपालमा यो नौलो रहेको समेत बताए ।

यस्तै, उनले अगाडि भने-‘एसियामा सबैभन्दा पहिले जापानले मौलिक फिल्म बनाउन सुरु गरेको हो । कुरुसोवाले बनाएको फिल्म संसारभरिका दर्शकका लागि जहिले हेरे पनि बासी लाग्दैन । मौलिकताको बहस कोरिया, इरान हुँदै अहिले भियतनामपछि नेपालमा छिरेको छ ।’

आफै पनि सुरुवाती चरणमा देखिने मौलिकतामा भुलेको बताउँदै उनले भने, ‘देखिने र नदेखिने मौलिकताको भेद के हो मलाई नै थाहा थिएन । कालोपोथीपछि मैले आफैलाई प्रश्न गर्न थालेँ। त्यसपछि म पनि देखिने मौलिकतामा दौडिएछु भन्ने मलाई रिअलाइजेसन भयो । त्यसपछि नदेखिने मौलिकपन खोज्ने प्रयास गरेँ। अक्षरमा व्यक्त गर्न नसकिने कुरा मान्छेको हाउभाउमा सिनेमामा देखाउन सकिँदो रहेछ। जसले एउटा सिर्जना लोकल भएर पनि ग्लोबल हुन जाँदो रहेछ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट