आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन-Sutra News

आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

आइतबार, ४ चैत्र २०८०

आइतबार, ४ चैत्र २०८०

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन गरेका छन् । गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई बोलाएर संयुक्तरुपमा यस्तो निर्देशन दिएका हुन् ।



प्रतिवेदनमा औंल्याइएका राजनीतिक नेतृत्वसहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्कालै कारबाहीको दायरामा ल्याउन उनको निर्देशन छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले गत चैत १ मा सरकारलाई जाँचबुझ प्रतिवेदन बुझाएको थियो । आयोगले बुझाएको प्रतिवेदनलाई तत्कालै कार्यान्वयन लैजान शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशन गरेको थियो ।

सोही निर्देशन अनुसार गृहमन्त्री लामिछानले सुरक्षा अधिकारीलाई बोलाएर प्रतिवेदनले उल्लेख गरेकाअनुसार पात्रमाथि कारबाही गर्न निर्देशन गरेका हुन् ।

सुन तस्करी प्रकरणमा बृहत छानबिनको माग गर्दै एमाले र रास्वपाले संसदमा तत्कालिन समय संसदमा अवरोध गरेका थिए । एमाले र रास्वपाको निरन्तर अवरोधपछि सरकारले गत असोज १५ मा पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो ।

जुन आयोगले बिहीबार आफ्नो प्रतिवेदन गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट