फागुन महिनामा ६ वटा फिल्म रिलिज, व्यापारमा खडेरी-Sutra News

फागुन महिनामा ६ वटा फिल्म रिलिज, व्यापारमा खडेरी

आइतबार, ४ चैत्र २०८०

आइतबार, ४ चैत्र २०८०

काठमाडाैं । फागुन महिनामा रिलिज भएका नेपाली फिल्महरूले बक्सअफिस उचाल्न नसक्दा निर्मातालाई लगानी उठाउन हम्मे हम्मे परिरहेको देख्न सकिन्छ ।



मङ्सिरदेखि खडेरी लागेको नेपाली फिल्मको बक्स अफिसलाई फागुन महिनामा रिलिज भएका फिल्मले उचाल्ने अपेक्षा गरिएको थियो। तर, फागुन महिनामा प्रदर्शन भएका कुनै पनि फिल्मले न त हिट भन्न पाए न त लगानी सुरक्षित गरे भन्न पाए।

यो महिनामा ६ वटा नयाँ नेपाली फिल्म रिलिज भए । तर, यी ६ वटै फिल्मको लगानी सुरक्षित भएको छैन । फागुनको ४ गतेबाट रिलिजमा आएको फिल्म ‘जिग्री’ले दर्शकको साथ पाएन । दर्शकले रिलिज भएको नै थाहा नपाएको यो फिल्म त हलमा लागेको दुई दिनमै उत्रियो । अब दर्शकलाई नै आकर्षित गर्न सकेन यो फिल्मले अप्रत्याशित रूपमा लगानीको सुरक्षिततामा समस्या भोग्नु पर्‍यो।

‘जिग्री’ रिलिज भएको एक हप्तापछि फागुनको ११ गतेबाट फिल्म ‘गोर्खा वारियर’ रिलिजमा आएको थियो । फिल्म हेर्नका लागि लाहुरे परिवारका दर्शकको आकर्षण देखियो। केही शहरमा फिल्म हेर्न दर्शकको चाप ठिकठाक रह्यो । तर, फिल्मले अरू दर्शकको साथ पाउन सकेन । निर्माण पक्षले सोचे अनुरूप दर्शकको साथ पाउन नसक्दा यसबाट निर्माता तथा निर्देशक मिलन चाम्सले लगानी सुरक्षित गर्न सकेनन् ।

यता, फागुनको १८ गतेबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य’ले दर्शकको राम्रो साथ पाइरहेको छ । प्रिमियरपछि समीक्षा कमजोर आउँदा फिल्मको इनिसियल व्यापारमा ठूलो असर गर्‍यो । ‘अगस्त्य’ले विशेष रूपमा दर्शकको मनोभावमा सकारात्मक परिवर्तन ल्यायो।

सौरभ चौधरीको निर्देशनमा बनेको यो फिल्मले दोस्रो सातामा सीमित हलमा खुम्चिनु परेको थियो । तर, अपेक्षितरुपमा केही हदसम्म सफलता प्राप्त गरे पनि यो फिल्मले निर्मातालाई लाभकारी त बनाइ सकेको छैन। यद्यपि, तेस्रो सातामा प्रदर्शन भइरहेकाले आगामी दिनमा गर्ने व्यापारले यसको लाइफ टाइम व्यापार आङ्कलन गर्नेछ ।

फागुनको २५ गते काँडेतार, उपहार र रङ्गेली गरी ३ वटा नेपाली फिल्म रिलिज भए । जसमा काँडेतारले सबैभन्दा कम सो पायो त्यो पनि बिहान र रात्रिकालीन समयमा, जसले गर्दा फिल्मले भनेजस्तो व्यापार गर्न सकेन । कमजोर व्यापार भएकै कारण यो देशभक्ति फिल्म काँडेतारका निर्माता तथा निर्देशक नवल खड्काले हलबाट फिल्म नै उतारिदिए । काँडेतार हटेसँगै दुई फिल्मलाई केही सहज थियो । तर, यस्तोमा पनि फिल्म रङ्गेलीले चित्तबुझ्दो व्यापार गर्न सकेन ।

उसो त, फिल्म अहिले दोस्रो हप्तामा प्रवेश गरिसकेको छ तर फिल्मले भने नेपालबाटै लगानी उठाउन नसक्ने मुस्किलबाट गुज्रिरहेको छ । दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा लगायतका कलाकारको अभिनय रहेको फिल्मले आगामी दिनमा कस्तो व्यापार गर्छ त्यो भने हेर्न बाँकी नै छ । यस्तै गरी फिल्म उपहारको कुरा गर्ने हो भने पनि लगानी उठाउन अझै केही साता राम्रै दर्शकको साथ पाएर चल्नुपर्ने हुन्छ । रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल लगायतका स्टार कलाकारहरूको स्टाडम हेर्दा सुरुवातमा यसले व्यापारमा उछाल ल्याउने अड्कलबाजी गरिएको थियो । तर दोस्रो हप्तामा प्रवेश गरे पनि व्यापारमा अक्सिजन खोजी रहनु परेको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो फिल्मले भोलिको दिनमा कस्तो व्यापार गर्ला त्यो थाहा पाउन बक्स अफिसलाई नियाल्नु पर्ने हुन्छ ।

फागुन महिनाले पनि स्पष्ट हिट हुन सफल फिल्म पाएको छैन । अब चैत्र महिनामा महाजात्रा र बद्रीबहादुर गरी दुई फिल्म रिलिज हुने तयारीमा छन् । फागुनमा बक्सअफिसमा नदेखिएको उछाल चैत्रका यी फिल्मले के गर्लान् आम चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट