काठमाडौं । अभिनेता पुष्पल खड्का र अञ्जना बराइलीलाई लिएर ‘सिड्नी ब्लुज’ निर्माण हुने भएको छ ।
शङ्कर कार्कीको निर्देशन बन्न लागेको यो फिल्मका लागि केही दिन अघि पुष्प र अञ्जनाले निर्माण पक्षसँग कागजी सम्झौता गरेका थिए ।
हाल प्रि प्रोडक्सनमा रहेको यो फिल्मबाट शिवले फिर्चड फिल्ममा डेब्यु गर्दै छन् ।
यो फिल्मले आफ्नो देशको सम्भावनालाई नकारी विदेशी जीवन बिताउने वर्तमानका युवाहरूको कथा रहेको निर्देशक कार्कीले बताए । ‘अस्ट्रेलिया बस्ने युवक जसको जीवन बाहिर देख्दा निकै सुन्दर तर यथार्थमा अन्धकार छ । सो युवकको कथा यो फिल्म मार्फत भन्ने प्रयास गर्नेछु,’ निर्देशकले बताए ।
जुन २०२४ को पहिलो हप्ताबाट छायांकनको लक्ष्य रहेको फिल्ममा पुष्प र अञ्जनासँगै रवीन्द्र झा, शिव आर. ठकुरी लगायतको प्रमुख भूमिका रहने बताइएको छ ।
फिल्मको छायांकन ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा हुने जानकारी गराइएको छ । यसको छायांकनको समयमा नेपाली फिल्ममा खासै प्रयोग नगरिएको ‘मिनेचर सेट’ र ‘प्रोस्थेटिक मेकअप’को प्रयोग हुने निर्देशक शङ्कर कार्कीले बताए ।
अभिनेता पुष्पलले यो फिल्ममा आफूले चार किसिमको लुक्समा र चुनौतीपूर्ण भूमिकामा अभिनय गर्नुपर्ने बताए । उनले निर्देशकको सोचलाई पूरा गर्न आफूले सके जति मेहनत गर्ने जनाए ।
फिल्मको कथा शिव आर ठकुरीको हो भने पटकथा लेखक किरण घिमिरे (माइकल) हुन् । सुसन प्रजापतिले छायाङ्कन गर्ने यो फिल्मका निर्माण व्यवस्थापक प्रकाश हमाल हुन् । कुटुम्ब ब्यान्डले ब्याकग्राउन्ड स्कोर दिने फिल्मका कोरियोग्राफर रामजी लामिछाने हुन् ।
आर्ट मुभिजको प्रस्तुतिमा डि मिडियाले बनाउने यो फिल्मको रिलिज लक्ष्य २०२४ को डिसेम्बर रहेको छ । फिल्मकी निर्माता आरती शाही हुन् । तारा नेपाली कार्यकारी निर्माता र एशोसियट निर्माता धर्म सुवेदी हुन् ।