बागमतीमा अंकगणितको सकस : २ सीट भएको पार्टी पनि नेतृत्वको बारगेनिङ्गमा-Sutra News

बागमतीमा अंकगणितको सकस : २ सीट भएको पार्टी पनि नेतृत्वको बारगेनिङ्गमा

आइतबार, ४ चैत्र २०८०

आइतबार, ४ चैत्र २०८०

काठमाडौं । सत्ता समीकरण परिवर्तनसँगै बागमती प्रदेशमा अंकगणितको संकट आइलागेको छ । अंकगणितको संकटसँगै माओवादी केन्द्र नेतृत्वको सरकार के हुने अन्योल बनेको छ ।



११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्दछ । तर, नयाँ गठबन्धन एमाले–माओवादी केन्द्रसँग बहुमत जुटाउने अवस्था छैन ।

एमालेसँग २७, माओवादी केन्द्रसँग २१ र एकीकृत समाजवादीसँग ७ गरी गठबन्धनको पक्षमा जम्मा ५५ सांसद छन् । जुन बहुमतभन्दा एक सदस्य कम हो ।

यस्तोमा राप्रपा, नेमकिपा र हाम्रो पार्टीको सहयोग पाएमा अहिलेको गठबन्धन सहज बहुमत जुट्ने अवस्था छ । तर, साना दलहरुको बारगेनिङ्गको तह सामान्य खालको छैन ।

१३ सांसद भएको राप्रपाले आफ्नो नेतृत्व खोजिरहेको छ भने २ सांसद भएको हाम्रो पार्टीले पनि आफूलाई नै नेतृत्व दिन भनेको छ । आइतबार हाम्रो पार्टीले आफूलाई सघाउन भन्दै विज्ञप्ति नै निकालेको थियो । नेमकिपा भने सत्ताको खेलमा देखिएको छैन ।

गठबन्धन परिवर्तनसँगै नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । संवैधानिक व्यवस्थाअनुसार सत्ता साझेदार दल बाहिरिएसँगै सरकारले संसदमा बहुमत सिद्ध गर्नुपर्छ । तर, यस्तोमा अहिलेको गणितले बहुमत सिद्ध गर्न सकिने अवस्था छैन ।

बागमतीमा देखिएको गणित यति अहसज छ कि सबैभन्दा ठूलो दल नेपाली कांग्रसले पनि बहुमत जुटाउन सक्दैन । गठबन्धनको कारण ३७ सिट भएपनि साना दललाई समेटेर उसले बहुमत पुर्‍याउने छैन ।

कांग्रेसले सहजै १३ सिट भएको राप्रपा र ३ सिट भएको नेमकिपाको मत पाउन सक्छ । तर, त्यो मत बहुमतका लागि पर्याप्त छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट