काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले सिटौलाविरुद्ध एक करोड ६१ लाख २० हजार रुपैयाँ बिगो दाबी गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सिटौलाले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै हिमडुङ एण्ड थोकर कन्ट्रक्सनमा समेत कार्य गरी व्यापार व्यवसाय गरेको र सूर्यबिनायक धुलिखेल–सिन्धुलीबर्दिवास रोड प्रोजेक्टमा ठेक्का लिई प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी भ्रष्टाचार गरेको आयोगको आरोप रहेको छ ।
उनले साविक नेपाल टेलिकमको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, बमोजिम व्यापार व्यवसाय सञ्चालन गर्न वा वाह्य कार्य गर्न स्वीकृत लिनु पर्ने कानूनी प्रावधानविपरीत एक करोड ६१ लाख २० हजार गैरकानूनी व्यापार व्यवसाय गरेको देखिएको अख्तियारले जनाएको छ ।
सोहीअनुसार आयोगले सिटौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ बमोजिमको कसुरमा सोही बराबरको रकम बिगो कायम गरी आर्जन गरेको सम्पत्तिसमेत जफत हुने गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए ।