काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले महिन्द्रराय यादव समूहले नेकपा माओवादी केन्द्रसँग गरेको एकता पार्टी नीतिविपरीत भएको भन्दै मान्यता नदिने निर्णय गरेको छ ।
पार्टी कार्यालय तीनकुनेमा बसेको नेसपाको केन्द्रीय कार्य कार्यकारिणी बैठकले पार्टीको नीतिविपरीत स्वार्थका आधारमा केही नेताहरूले माओवादीसँग पार्टी एकता गरेको भन्दै त्यसको कुनै मान्यता नहुने निर्णय गरेको हो ।
नेसपालाई सांगठनिक रुपमा देखिएका समस्या समाधान गर्दै पुनर्जिवित गर्ने विषयमा पार्टी गम्भीर रहेको कार्य कारिणी सदस्य कृष्ण शर्माले जानकारी दिए । अनुशासनलाई तोडेर सत्ता समीकरणको खेलमा अमुक स्वार्थ पूरा गर्ने ध्येयका साथ केही नेताले गरेको क्रियाकलाप स्वीकार्य नहुने उनको भनाइ थियो ।
शर्माले कार्य कारिणी समिति बैठकमा आफूहरुसँग बहुमत रहेको दाबी गरेका थिए । उनले देशको अग्रगमनका लागि कार्य योजनासहित अघि बढ्ने भन्दै सोमबार बस्ने केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गर्ने बताए ।