काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई थप आठ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीले जिल्ला अदालत रुपन्देहीबाट पुनलाई आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको हो ।
गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका पुनलाई अनुसन्धानका लागि रुपन्देही लगिएको थियो । तत्कालीन समयमा उनी उपाध्यक्ष रहेको बुटवलको सुप्रिम सहकारीमार्फत ठगी गरेको भन्दै पुनसहितका व्यक्तिविरुद्ध जाहेरी परेको थियो ।
माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिवसमेत रहेका पुनको नाम सुन तस्करी प्रकरणमा समेत जोडिएको छ ।
उनी गत साउन २ गते बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग सम्बन्ध देखिएको भन्दै अनुसन्धानको दायरामा ल्याउनु पर्ने सुन जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।