काठमाडौं । ललितपुर प्रहरीले नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले आइतबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट छाप्ने र कारोबार गर्नेलाई सार्वजनिक गरेको हो ।
गोदावरी नगरपालिका ३ टौखेल बस्ने करण प्रधान, काभ्रे मण्डनदेउपुर बस्ने सञ्जय अधिकारी र बेथानचोक घर भई बनेपाका सविन हुमागाईंलाई पक्राउ गरी सार्वजनिक गरेको हो । नक्कली नोटबाट कारोबारको सूचना आएपछि करण प्रधानलाई एक हजारको २० थान नक्कली नोटसहित पक्राउ गरिएको थियो ।
सोधपुछ गर्ने क्रममा सञ्जय र अधिकारी पनि संलग्नता देखिएपछि ११५ वटा एक हजार नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए ।
यस्तै, थप अनुसन्धान गर्दा मोबाइल पसल व्यवसाय गर्ने हुमागाईंलाई एक हजारको ६९ वटा र पाँच सयको एउटा नक्कली नोटसहित पक्राउ गरिएको उनको भनाइ थियो । पक्राउ परेका हुमागाईंले आफ्नै पसलमा नक्कली नोट छाप्ने गरेको खुलेको खनालले बताए ।
उनीहरूबाट नक्कली नोट छाप्न प्रयोग हुने प्रिन्टर, सादा पेपर चार सय थानलगायत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई मुद्रासम्बन्धी कसुरमा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।