काठमाडौं । नायक दयाहाङ राई र नायिका मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाइँ’को छायांकन सम्पन्न भएको छ ।
फागुनको ५ गतेबाट पूर्वी रुकुमको तक्सेरा, लुगुम लगायतका स्थानमा छायांकन गराएको फिल्मको एक महिनामा सकिएको निर्माणपक्षले जानकारी गराएको छ ।
फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, राज थापा, कविता आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, सोनाम लामा, बिबेश बुढा मगर र सुनिल मगरको मुख्य भूमिका छ ।
जनक घर्ती मगरको निर्माणमा तयार भएको यो फिल्मका निर्देशक अनिल बुढा मगर हुन् । फिल्ममा अनिलकै कथा छ । अनिल बुढा मगर, विनोद खतिवडा र सुभाष कोइरालाको लेखनमा तयार भएको फिल्ममा सुसन प्रजापतिको छायांकन, हर्क साउद, मनोज थापाको संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ ।
फिल्मको कथावस्तुको बारेमा निर्माणपक्षले केही पनि खुलाएको छैन । फिल्म आउँदो बर्षको असार २८ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।