काठमाडौं । कोशी प्रदेशको राजधानी विराटनगरस्थित नोबेल मेडिकल कलेजको अर्थो डिपार्टमा कार्यरत स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्या आरोपी शिवशंकर दाससमेत मृत फेला परेका छन् । शिवशंकर चन्द्रिका कुमारीको प्रेमी हुन् ।
शिवशंकरले आत्महत्या गरेको प्रहरीले जनाएको छ । आफूलाई प्रेममा धोका दिएको भन्दै मलेसियाबाट फर्किएको छैटौँ दिनमा प्रेमिका चन्द्रिकाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका शिवशंकर गत २७ फागुनमा काठमाडौं आइपुगेका थिए । उनी २९ फागुनमा विराटनगर पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
विराटनगर पुगेपछि उनी सिधै प्रेमिकाको कोठामा बसेका शिवशंकर लहान घर पुगेका थिएनन् । शिवशंकरले चन्द्रिका अर्को केटासँग लागेको भन्दै विवाद बढेपछि गत शुक्रबार हत्या गरेका थिए ।
प्रेमिकाको हत्यापछि फरार रहेका शिवशंकर आइतबार राति विराटनगरको एक होटलमा फेला परेको जिल्ला प्रहरील कार्यालय मोरङले जानकारी दिएको छ । उनको शव फाइन होटलको कोठा नम्बर १०२ मा फेला परेको हो ।
मृतक चन्द्रिकाका दुई जना प्रेमी रहेको खुलेकाले पनि प्रहरीले प्रेम सम्बन्धकै कारण हत्या भएको निष्कर्ष निकालेको छ । चन्द्रिकाले आफू अर्कैसँग प्रेममा रहेको बताएपछि हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।