काठमाडौं । महोत्तरीको बर्दिबास नगर क्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन् ।
बर्दिबास १४ स्थित नमुना मुसहर बस्तीमा १०८ जनाको लघु जीवन बीमा गराएपछि बर्दिबास नगरपालिका प्रमुख प्रह्लादकुमार क्षेत्रीले सो प्रोत्साहन रकम घोषणा गरे ।
“छोराछोरीको उमेर २० वर्ष पुगेपछि मात्र उनीहरुको विवाह गर्नुहोस्, नगरपालिका कार्यालयले ५० हजार नगद प्रोत्साहन रकम दिने छ”, नगरप्रमुख क्षत्रीले भने, “यसले तपाईंहरुको स्वास्थ्य र परिवार राम्रो बन्ने छ ।”
नगर क्षेत्रभित्रका स्थायीबासी मुसहर पुरुष महिला दुवैलाई यो रकम उपलब्ध गराइने क्षत्रीको भनाइ छ । सानै उमेरमा विवाह गरी बच्चा जन्माउँदा मुसहर महिलाको स्वास्थ्यमा समस्या बढ्दै गएको क्षेत्रीले बताए ।
अठारदेखि ६९ वर्ष उमेर समूहका मुसहरहरुको तीन वर्षे लघुजीवन बीमाबापत् रकम बर्दिबास नगरपालिकाले एकमुष्ठ एक लाख १९ हजार ३४५ जम्मा गरेको हो । बीमा ‘लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स’ लिमिटेड बर्दिबास शाखामा गरिएको छ ।
नगरपालिकाले बीमा गरिदिँदा स्थानीय सरकारबाट सहयोग पाइने आशा जागेको बस्तीकी ५८ वर्षीया मानकी सदाले बताए । सोही बस्तीका ६६ वर्षीय सुकेश्वर सदा र २२ वर्षीया निशा सदाले लघुजीवन बीमा गरिदिएकोमा खुशी व्यक्त गरे ।