‘महाजात्रा ब्याज खान बनेको होइन, पात्र बाहेक सबै कुरा भिन्न छ’-Sutra News

‘महाजात्रा ब्याज खान बनेको होइन, पात्र बाहेक सबै कुरा भिन्न छ’

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

काठमाडौं । षड्कोण आर्ट्स ब्यानरबाट निर्माण भएको ‘महाजात्रा’ आगामी शुक्रबारबाट नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुँदै छ । यस पटक पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्या नै फिल्मको कथा रहेको छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिने फिल्ममा हाँसो र रोदनको मिश्रण छ ।



प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिने बताइएको छ । सोमबार रिलिजको पूर्व सन्ध्यामा आयोजित एक कार्यक्रममा बोल्दै निर्देशक भट्टराईले फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को सिक्वेल भएपनि पात्र बाहेक सबै कुरा भिन्न भएको बताएका छन् ।

फिल्म जात्रा र जात्रै जात्रामा दर्शकलाई जसरी मनोरञ्जन गराएको थियो । त्योभन्दा बढी मनोरञ्जन भरिएकाले फिल्मको नाम ‘महाजात्रा’ राखिएको बताउदै भट्टराईले भने ‘हामी पहिले ‘जात्रा’को सिक्वेल बनाउने पक्षमा थिएनौ । एउटा राष्ट्रिय इस्युको कथा थियो । त्यो कथा नयाँ पात्रबाट भन्नुपर्छ भनेर कोसिस गर्यौ । काम गर्दै जाँदा प्रमाणित गर्नुपर्ने लाइन जात्राको तीन क्यारेक्टर हाल्दा नयाँ चरित्र ल्याउनु भन्दा बढी न्याय गर्छ भन्ने लाग्यो । यसैले ‘महाजात्रा’ बन्यो ।’

यस्तै, फिल्म जात्राको ब्याज खान नबेको स्पष्ट पर्दै उनले भने, ‘ब्याज त बैंकले पनि खान्छ नि । तर, मिटर ब्याज खानुभएन । आफ्नै चीज हो, सस्तो रेटमा ब्याज खाउँ न त भन्ने लागेको हो ।’

अब ‘जात्रा’ फ्रेन्चाइजको शैली फेरिने उनको संकेत छ । ‘हामीले बनाउँदै आएको फिल्मको ‘प्याटन’को हिसाबले यो अन्तिम फिल्म हुनसक्छ ।’ भट्टराईले ‘महाजात्रा’ तयार गर्न आफूलाई १४ महिना लागेको सुनाए ।

‘जात्रा’ पैसा र ‘जात्रैजात्रा’मा सुन भेटिएपछि त्यो पचाउन गर्ने तीन पत्रको संघर्षमा बनाएका निर्देशकले ‘महाजात्रा’मा राजनीति घुसाएका छन् । राजनीतिबाट अछुत केही नरहेकोले, भट्टराई अगाडि भन्छन्, ‘नेपालको प्राक्टिक्समा राजनीतिक फिल्म त्यति राम्रोसँग चल्दैन, थाहा छ । त्यसैले राजनीति टच गरेर कमेडी फिल्म बनाएको हो ।’

कार्यक्रममा अभिनेता हरिवंश आचार्यले ‘महाजात्रा’ आफ्नो घरको फिल्म भएको बताए । आफ्नो घरको फिल्म भएकोले स्क्रिप्ट नै नहेरी आफूले अभिनय गरेको सुनाउँदै फिल्म राम्रो बनाउने टिम भएकोले फिल्म पनि राम्रो बनेको विश्वास आफूमा रहेको सुनाए । फिल्म हेर्न आफू पनि उत्साहित रहेको बताएका आचार्यले एउटै मितिमा यो फिल्म संसार भर रिलिज हुन लागेकोमा गौरव महसुस भएको सुनाए ।

यता, फिल्मका निर्माता समेत रहेका कलाकार रवीन्द्र सिंह बानियाले फिल्म राम्रो बनेको दाबी गरे । बानिया भन्छन्, ‘दर्शकले यस अगाडिमा हाम्रो फिल्म मनपराएको कारणले राम्रो फिल्म बनाउँछ भनेर विश्वास गर्नुहुन्छ। त्यो विश्वास यो फिल्मले पनि कायम राख्छ । बल, बुद्धी र पैसाले भ्याएसम्म ‘महाजात्रा’ राम्रो बनाउने कोसिस गरिएको छ । दर्शकमा ‘जात्रा’ र ‘जात्रै जात्रा’बाट हामीले हासिल गरेको विश्वास फिल्मले टुट्न दिदैन ।’

कलाकार रवीन्द्र झाले फिल्ममा आफ्नो पात्र पुरानो भएपनि अभिनय नयाँ दिने कोसिस गरेको बताए । उनले ‘जात्रा’को सिक्वेलमा ‘महाजात्रा’ भएकोले आफ्नो अभिनय दर्शकलाई उही लाग्न सक्ने अनुमान लगाए ।

फिल्म ‘जात्रा’ अभिनयपछि आफूलाई फिल्ममा तराइको पात्रको भूमिकाको धेरै अफर आउने गरेपनि नयाँ र फरक अभिनय कसैले गराउन नसकेको गुनासो उनको थियो ।

उनले भने, ‘मैले क्षमता अनुसार फिल्ममा अभिनय गर्न पाइन । जो पनि एउटै खालको भूमिका अफर गर्छन् । नयाँ गर्न रुचाउँदैनन् ।’ नाटकमा एकसेएक भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले फिल्म धेरै अभिनय गरेपनि त्यो प्यास अझै नमेटिएको सुनाए ।

कलाकार दिव्यदेवले ‘महाजात्रा’ले आफूलाई राम्रो टिमसँग काम गर्ने अवसर मिलेको बताए । उनले फिल्म युनिटसँग काम गर्दाको अनुभव शेयर गर्दै फिल्ममा आफ्नो भूमिका प्रहरी अफिसरको रहेको खुलाए । उनले थपे, ‘महाजात्रा’ गराउने टिममा म प्रहरीको रूपमा छिरेको छु । त्यो ‘महाजात्रा’ गराउन मेरो पनि योगदान छ ।’

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको फिल्म ‘महाजात्रा’मा विपिन कार्की, रविन्द्र सिंह बाँनिया, वर्षा राउत, रविन्द्र झा, प्रविन खतिवडा, राजाराम पौडेल अघिल्ला शृङ्खलादेखि जोडिदै आएका कलाकार हुन् ।

यसपटक महाजात्रा टिमले अन्य कलाकारको रुपमा हरिवंश आचार्य, दिव्य देव र गौमाया गुरुङलाई पनि समावेश गरेको छ । कलाकारका हिसाबले बलियो लाइनअफ देखिएको फिल्ममा यसपटक दर्शकमाझ खिचडी नै खिचडी दिने प्रयत्न गरेको देखिन्छ । अब, दर्शकले साथ दिएको खण्डमा यो फिल्मले बिष्फोटक व्यापार गर्ने अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट