काठमाडौं । प्रतिनिधिसभाको बैठक शुरु भएको छ । मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको बैठक करिब डेढ घण्टा ढिलो गरेर साढे १२ बजे मात्र सुरु भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।
आजै अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गर्ने छन् । त्यसैगरी, आगामी आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गरिनेछ कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिको निर्वाचनका लागि यही चैत ७ गते बुधबार दिउँसो ३ बजेको समय तोकिएको छ । उक्त निर्वाचनका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्म प्रस्ताव दर्ता गर्ने कार्यसूची छ ।